क्रिसमस मनाउँदा मास्क लगाउन डब्लूएचओको आह्वान

कोपेनहेगन, ४ पुस । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले क्रिसमस मनाउने क्रममा हुने भीडभाडका बेला अनिवार्य मास्क लगाउन सबैलाई आह्वान गरेको छ ।

क्रिसमस मनाउनेको सङ्ख्या युरोपमा धेरै भएकाले सङ्गठनको युरोप कार्यालयले विशेष गरेर युरोप क्षेत्रमा रहेकाहरूलाई मास्क लगाउन आह्वान गरेको हो ।

सङ्गठनले बुधबार जारी गरेको अपिलमा भविष्यको पुनःउत्थानलाई ध्यान दिँदै नयाँ वर्ष २०२१ मा कोरोना महामारीको न्यूनीकरण हुने वातावरण बनाउन पनि आग्रह गरिएको छ । विगतमा खुल्लारूपमा क्रिसमस मनाउन पाइएको भए पनि यस वर्षको क्रिसमस भने मास्क पहिरेर मनाउन सङ्गठनले विशेष जोड गरेको छ ।

क्रिसमस मनाउने क्रममा हेलचक्र्याइँ गरियो भने युरोपभरी नै कोरोनाभाइरसको महामारी फेरी अझ बढ्ने खतरा भएकोतर्फ चिन्ता व्यक्त गरिएको छ ।

संयुक्त राष्ट्रसङ्घअन्तर्गतको स्वास्थ्यसम्बन्धी यस निकायले नयाँ वर्ष सन् २०२१ को पहिलो हप्ता र पहिलो महिना कोरोना महामारीको दृष्टिकोणले उच्च जोखिमको समय हुनसक्ने उल्लेख गरेको छ । उच्च जोखिमको बेलामा उच्च सतर्कता अपनाउनु पर्ने र सँगसँगै काम गर्नुपर्ने तर्फ पनि सङ्गठनले सबैको ध्यानाकर्षण गराएको छ ।

“हामीले महामारी थप नफैलिँदै ख्याल गरियो र उच्च सावधानी अपनाइयो भने त्यसलाई व्यवस्थापन गर्न सकिन्छ, नत्र ठूलो क्षति हुने र व्यवस्थापन गर्न गाह्रो हुने खतरा हुन्छ”, सङ्गठनद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । हरेक व्यक्ति व्यक्तिको सतर्कताले समुदायलाई सुरक्षित बनाउन सकिने भएकाले हरेकले सावधानी अपनाउनुपर्नेमा सङ्गठनले जोड दिएको छ ।

बिदा वा चाडपर्व मनाउन सामान्य होसियार भए मात्रै पनि ठूलो समस्या र ठूलो क्षतिबाट मुक्त भइने भएकाले संवेदनशील हुन पनि विश्व स्वास्थ्य सङ्गठनले सबैलाई अनुरोध गरेको छ । सकेसम्म परिवार मात्रै सहभागी हुने गरी आफ्नै बासस्थानमै मनाउन र बाहिर जानै परेमा मास्कको पूर्ण प्रयोग गर्न सङ्गठनले पटकपटक अनुरोध गरेको छ ।

Advertisment