ओली प्रचण्डबीच खुमलटारमा भेटमा थपिए अर्का नेता बामदेव गौतम , पुल्चोक मन्त्री निवासमा प्रम ओली र गृहमन्त्री बीच पनि भेट

 

काठमाडौं, ४ पुस । नेकपाभित्र लामो समयदेखि चलिरहेको विवादको निकास खोज्ने सन्दर्भमा प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज छलफल भएको छ । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा उहाँहरुबीच भेट भएको हो । प्रधानमन्त्री भएपछि ओली पहिलो पटक अर्का अध्यक्ष दाहालको निवास खुमलटार पुग्नुभएको बताइएको छ ।

उक्त भेटमा पार्टीभित्र देखिएका विवादका विषयमा छलफल भएको बताइएको छ । प्रचण्डका प्रेस संयोजक विष्णुप्रसाद सापकोटाले उहाँहरुबीच पार्टीभित्र देखिएका विवादका विषयमा छलफल भएको बताउनुभयो । यसअघि बालुवाटारमा हुने गरेको भेटकै निरन्तरका रुपमा यो भेट भएको जनाइएको छ । छलफल पार्टीभित्र विद्यमान विवाद समाधान गर्नेतर्फ केन्द्रित रहेको बताइएको छ । दुवै अध्यक्षबीच आज खुमलटारमा भेट भएको र सोही क्रममा पार्टी उपाध्यक्ष एवं नेता वामदेव गौतम पनि सहभागी हुनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएको छ ।

त्यस्तै प्रधानमन्त्री ओलीले प्रचण्डसँगको छलफल सकिएपछि सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापासित मन्त्री निवास पुगेर छलफल गर्नुभएको छ । भोलि आइतबार नेकपा स्थायी कमिटी बैठक बस्दैछ ।

Advertisment