संसद विघटन प्रधानमन्त्री ओलीको बाध्यात्मक कदम, सरकार असफल भयो भन्नेहरु चुनावमा जान किन डराएको ? : रायमाझी

निर्वाचनको लागि कांग्रेस सधैं तयार छ, डराउँदैन् :सचेतक भुषाल
यो सरकारसँग चुनाव गराउने क्षमता पनि छैन् : लक्ष्मणलाल कर्ण
संसद विघटन हुनैसक्दैन्, प्रचण्ड–माधवको नेकपा आधिकारिक : पोखरेल

काठमाडौं, ८ पुष । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केपी शर्मा ओली पक्षधर नेता टोपबहादुर रायमाझीले आफ्नै पार्टीबाट बारम्बार असहयोग भएपछि र अविश्वासको प्रस्ताव दर्ता गराएपछि बाध्य भएर संसद विघटन गरेर नयाँ जनादेशको लागि चुनावमा जाने घोषणा गर्दै मिति तोकेको स्पष्ट पारेका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेता रायमाझीले यस्तो बताएका हुन् । उनले सरकारलाई बरु प्रमुख प्रतिपक्षी दलबाट समेत असहयोग नभएको अवस्थामा नेकपाकै केही साथीहरुले हातखुट्टा बाँध्ने काम गरेको गम्भीर आरोप लगाए । उनले भने–‘हाम्रो पार्टीमा चर्को विवाद सिर्जना भयो । मुख्यगरि प्रधानमन्त्री ओलीलाई काम गर्ने वातावरण भएन् । हातखुट्टा बाँध्ने काम भयो ।

उहाँलाई काम गर्न नदिने स्थिति भयो । प्रचण्डबाट अविश्वासको प्रस्ताव ३० गते ल्याईयो, प्रतिपक्षीले त्योसम्मको हर्कत बरु भएन् । सरकार पक्षबाटै नेताहरुबाट, विशेष अधिवेशनमार्फत अविश्वासको प्रस्ताव अघि बढाएपछि, एकातिर काम गरेन भन्ने अर्कोतिर अविशसको प्रस्तावमा जाने कुरा भयो । यो गलत काम भएपछि प्रधानमन्त्रीले संसद विघटन गर्नुभयो । यो उहाँको बाध्यात्मक कदम हो ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले आफ्नै पार्टीबाट प्रधानमन्त्री ओलीलाई अविश्वासको प्रस्ताव ल्याएर हटाउनेसम्मको हर्कत भएपछि प्रधानमन्त्री ओलीले बाध्यात्मक कारण संसद विघटन गरेको जिकिर गरे । उनले भने,‘उहाँहरुले सरकारले काम गर्न सकेन भन्नुभयो, अनि प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने काम भयो, अहिले संसद पूर्नस्थापना गर्ने हो माग गरिएको छ । सरकार असफल भयो, काम गर्न सकेन भन्नेहरु कम्तिमा मध्यावधिमा जाने भनेपछि खुशी भएर निर्वाचनमा जानुपर्ने हो नि । राम्रो काम गर्न सक्छु भन्ने लाग्नेलाई निर्वाचनमा जानुपर्छ । सरकारले काम गर्न सकेन भन्नेहरुले सरकारको निर्णयलाई सम्मान गर्नुपर्छ । जनादेश लिएर जानु नै राम्रो हो । हामी भोट प्राप्त गर्छौ, जनमत प्राप्त गर्छों । प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार छ, यो उहाँको राईटको कुरा हो । सरकार असफल भयो भन्नेहरु चुनावमा जान किन डराएको ?’

उनले कुनैपनि हालतमा संसद पूनस्र्पाना नहुने जिकिर गरे । उनले सरकारले काम गर्न सकेन भनेपछि, सरकार परिवर्तनको लागि अविश्वास प्रस्ताव पेश गरेपछि, र सरकार गिराउन त्यो खालको प्रस्ताव गएपछि प्रधानमन्त्री ओलीले जनादेशमा जाने कुरा गर्नु स्वागतयोग्य भएको स्पष्ट पारे । रायमाझीले तोकिएकै मितिमा चुनाव सम्पन्न हुनेपनि विश्वास दिलाए । उनले वर्तमान अध्यक्ष ओली सर्वसम्मत अध्यक्ष र सर्वसम्मत प्रधानमन्त्री भएको सुनाउँदै बालुवाटारमा पहिलो अध्यक्षको नाताले ओलीले केन्द्रीय कमिटीको बैठक बोलाएको सुनाए । उनले भने,‘कतिपय साथी आउनुभएन्, कतिपय आउनुभयो । हामीले आवश्यकत्ताअनुसार केन्द्रीय कमिटीमा संख्या थपियो । विधानअनुसार बैठक बसियो ।’
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी प्रभावशाली नेतृ तथा संसदीय दलकी सचेतक पुष्पा भुषालले सत्तारुढ नेकपाले जनमतलाई अपमान गरेको गम्भीर आरोप लगाईन् । उनले जनताले लामो समयको संघर्ष र आन्दोलनबाट प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रपछि नेकपालाई दुई तिहाईको जनमत दिएको भएपनि उसले जनमतको यथोचित कदर नगरेको जिकिर गरिन् । उनले मुलुकलाई समृद्धि र विकासमार्फत अघि बढाउने अभिभार नेकपासँग भएको भएपनि उनले संविधानको भावनाअनुसार काम नगरेको बरु उल्टै जनमतको घोर अपमान गरेको बताईन् ।

उनले नेपालको संविधानले स्थिर सरकार र स्थिर संसद चलाउने परिकल्पना गरेको उल्लेख गरिन् । तर, वर्तमान सरकारले संसद नै विघटन गरेर त्यो भावनामाथिनै कुल्चिने काम गरेको उनको गुनासो छ । वर्तमान प्रधानमन्त्री ओलीले पाँच वर्षभित्र देशलाई विकास र सुशासन दिन्छु भनेर सार्वजनिक रुपमै प्रतिबद्धता जनाएपनि सो घोषणाअनुसार काम भने नभएको पनि उनको आरोप छ । उनले भनिन्,‘उहाँले पानीजहाज पनि ल्याउँछु भन्नुभयो, भ्रष्टाचार शून्य सहनसिलता दिन्छु भनेर वचन दिनुभयो । तर, अहिले संसद नै समाप्त गर्नुभयो । संविधानले चलाउने हो नि देश । यदि व्यक्तिले चलाउने हो भने किन संविधान चाहियो ? मुलुकले प्रणालीअनुसार अघि बढेन भने प्राप्त उपलब्धि धरायशी हुन्छ । यो सरकारले संसद विघटन गर्यो, यो गलत काम हो । प्रधानमन्त्रीको विशेषाधिकारको कुरा गरियो, तर संसद विघटन प्रधानमन्त्रीको विशेषाधिकार होईन् । अहिलेको संविधानमा संसद विघटन गर्न कुनै धारा छैन् ।’

संसद र कानूनले स्विकार नगरेको कुरालाई प्रधानमन्त्री ओलीले मेरो अधिकार भन्दै संसद विघटन गरेर गलत काम गरेको नेतृ भुषालको भनाई छ । संसद विघटन सिफारिश संविधानको कुनै धाराले नचिन्नेपनि उनले दोहोर्याईन् । तर, नेकपा सरकारले संसद विघटनको कदम उठाएर गैरसंवैधानिक र अलोकतान्त्रिक काम गरेको उनको भनाई । उनले आफूहरुले संसदीय व्यवस्थालाई स्थिर बनाउन चाहेको उल्लेख गर्दै संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम संविधानतः नमिल्ने बताईन् ।

अब नेपाली कांग्रेसले के गर्छ ? भन्नेबारे पत्रकार धमलाले सोधेको प्रश्नमा उनले यसबारेमा वैचारिक बहस सुरु भएको जनाईन् । उनले भनिन्,‘निर्वाचनको वातावरण तय गर्नुपर्छ । हामी निर्वाचनको लागि सधैं तयार छौं । तर, हामी अदालतको निर्णय कुरेर बसेका छौं । २०७२ को संविधान जारी भएपछि भएको चुनावको बेलामा पनि हामीले एउटा पार्टीलाई स्पष्ट बहुमतको जनादेश दिनुपर्छ भनेका थियौं । मुलुकको विकास र समृद्धिको लागि अनि स्थायित्वका लागि पनि संविधानसभा जितेको तर कांग्रेस हारेको थियो । संविधान कार्यान्वयनको पक्षमा हामी छौं । राजनीतिक अस्थिरताको मूल्य जनताले चुकाउनुपर्छ ।’

उनले सत्तारुढ नेकपाले जनादेशको सम्मान नगरेको जिकिर गरिन् । उनले भनिन्,‘जबसम्म सरकार बन्नसक्ने ठाउँ हुन्छ, तबसम्म संसद विघटन हुँदैन् । अदालतको निर्णय पर्खनुपर्नेछ । संसद पूर्नस्थापना गर्ने सम्भावना छ । निर्वाचन प्रतिपक्षी दल डराउँदैन्, सधैं तयार छ । सिस्टमले मुलुकलाई चलाउँछ ।’

उनले संसद भनेको जनताको ऐना भएको उल्लेख गर्दै आफ्नो गुटको लागि विघटन गर्नु गलत भएको तर्क गरिन् । उनले प्रधानमन्त्री ओलीले पार्टी र कानुनको धज्जी उडाएको पनि आरोप लगाईन् ।

यो सरकारसँग चुनाव गराउने क्षमता पनि छैन् : लक्ष्मणलाल कर्ण

जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेता तथा सांसद लक्ष्मणलाल कर्णले प्रधानमन्त्री ओलीले संविधानमा नै नभएको व्यवस्था प्रयोग गरेर संसद विघटन गर्नु गलत र अस्विकार्य भएको टिप्पणी गरे । उनले वर्तमान सरकारसँग चुनाव गराउने क्षमता पनि नभएको ठोकुवा गरे । उनले भने,‘जनताको विकासको पैसा काटेर चुनाव हुन सक्दैन् । यो रकम काट्न मिल्दैन् । प्रधानमन्त्रीले आफ्नो पद धरापमा पर्यो भन्दैमा उहाँले तरबार चलाउँदै सबैलाई काटिदिने, यो त हाँस्यास्पद कुरा हो नि । संसदीय व्यवस्थामा प्रधानमन्त्रीको पद धरापमा पर्छ, जान्छ । यो नौलो कुरा होईन । तर, आफ्नो पद धरापमा पर्यो भन्दैमा यस्तो गलत कदम चाल्ने ? यो त संविधानको विरोधी भावना हो । उहाँमाथि अविश्वाको प्रस्ताव दर्ता भएको छ । अविश्वासको प्रस्ताव ल्याउँदा अर्को प्रधानमन्त्री पनि अघि सारेको छ । आफूसँग बहुमत छ भने फेश गर्नुपर्छ । तर, उहाँले संसद विघटन गर्न पाउनुहुन्न । दर्ता भैसकेको अविश्वासको प्रस्तावलाई फेश गर्नुपर्छ ।’

उनले संसद विघटन गैरसंवैधानिक रहेको तर्क पेश गरे । उनले अहिले चुनाव हुनसक्ने अवस्था र स्थिति नै नभएको पनि जिकिर गरे । उनले भने,‘अहिलेको अवस्था र अन्यौलबाट मुलुकलाई बचाउनको लागि हामीले अदालतमा बिन्ती गरेका छौं । विश्वमा धेरै देशमा सडकमा पनि बसेर संसद स्थापित भएका उदाहारण र ईतिहास छ। नाजायज कुरा र संविधानविपरितका कुरा सुरुदेखि नै बदर हुन्छ । हामीले संसद चलाउनको लागि सभामुखलाई पनि आग्रह गरेका छौं । अहिले चुनावको कुरा गरिएको छ, ओलीले गरेको कुरा नक्कली कुरा हो । यसले सक्कली कुरा लुक्दैन् ।’

संसद विघटन हुनैसक्दैन्, प्रचण्ड र माधवको नेकपा आधिकारिक ः पोखरेल

कार्यक्रममा नेकपाका नेता तथा सांसद कृष्णभक्त पोखरेलले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नै नराखी संविधान बनाईएको सुनाउँदै अहिले संसद विघटन गर्नु गैरसंवैधानिक भएको जिकिर गरे । उनले प्रधानमन्त्री ओलीले ल्याएको संसद विघटन प्रस्तावअनुसार संसद विघटन हुनै नसक्ने बताए ।

उनले भने,‘आशा गरौं सर्बोच्च अदालतले संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलाई बदर गर्ने छ, प्रचण्ड र माधवको नेकपा आधिकारिक हो जस्तो लाग्छ मलाई।’ कुनै पनि अर्थमा संसद विघटनको प्राबधान संविधानमा नभएको उनको जिकिर छ । उनले प्रधानमन्त्री ओलीले आफ्नो पार्टीसङ्ग छलफल नै नगरी संसद विघटन गरेको दुःखेसो पोखे । आफू वर्तमान संविधानको मस्यौदाकारमध्ये एक भएको सुनाउँदै पोखरेलले संसदीय अस्थिरतालाई मध्यनजर गर्दै संविधानमा प्रधानमन्त्रीलाई संसद विघटनको अधिकारको व्यवस्था संविधानमा नराखेको पनि सुनाए ।

उनले ओली पक्षधरले बोलाएको केन्द्रीय कमिटी बैठक वैधानिक नभएको जिकिर गरे । दाहाल नेपालले बोलाएको केन्द्रीय कमिटी बैठकमा तीन सय १५ जना सदस्यहरु उपस्थिति भएकोले यो नै आधिकारिक पार्टी र निर्णय भएको उनको भनाई छ । उनले को सँग बहुमत छ ? भन्ने कुरा निर्वाचन आयोगले निक्र्यौल गर्नसक्ने जिकिर गरे ।

Advertisment