प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा दाहाल नेपाल समूहको विरोध प्रदर्शन

काठमाडौँ, १४ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध आज देशव्यापी विरोध प्रदर्शन गरेको छ । देशव्यापी विभिन्न कार्यक्रममा नेताहरुले प्रतिनिसभा विघटनले संविधान र लोकतन्त्रको मर्ममाथि प्रहार भएको भन्दै यसको पुनस्र्थापना भएरै छाड्ने दृढता व्यक्त गरे ।

राजधानीमा आयोजित कार्यक्रममा नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वास्तविक अर्थमा प्रतिनिधिसभा विघटन भएको छैन भन्नुभयो । उहाँले संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरेर संसद् विघटन गरिनु बिडम्बनायुक्त भएको बताउँनुभयो । उहाँले भन्नुुभयो, “सदन विघटन भएको छैन, सदन जीवित छ, सरकार संविधानको मर्म र जनताको भावना विपरीत गएको छ, प्रतिनिधिसभा पुनःस्थापना नहुञ्जेल आन्दोलन रोकिँदैन ।” समयमै गल्ती सच्याएर जाँदा जनताले माफी दिने जनाउँदै उहाँले प्रतिनिधिसभा पुनःस्थापना नहुञ्जेल आन्दोलनको आँधीबेहरी सिर्जना गरिने चेतावनी दिनुभयो ।

नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले संविधानको प्रावधानलाई कुल्चेर यसको मर्म र भावना विपरीत प्रतिनिधिसभा विघटन गर्नु कुनै पनि हिसाबले उचित नभएको बतानउनुभयो । अध्यक्ष नेपालले प्रतिनिधिसभा विघटनको विषय सर्वोच्च अदालतमा पुगेको र त्यहाँबाट संविधानको मर्म र भावनानुसारको फैसला आउने विश्वास व्यक्त गर्नुभयो । “मलाई पूरै विश्वास छ, संविधानको व्याख्या गर्ने जिम्मा पाएको निकायबाट संविधानको मर्म, प्रावधान, जनताको अभिमतअनुसार समुचित व्याख्या हुनेछ”, उहाँले भन्नुभयो, “प्रतिनिसभा पुनःस्थापना भइछाड्छ, हुन्छ, हुन्छ, हुन्छ ।”
वरिष्ठ नेता झलनाथ खनालले जनताका भावना विपरीतका कदम सच्याउन राष्ट्रव्यापीरूपमा आन्दोलनको आँधीबेहरी सिर्जना गर्नुपर्नेमा जोड दिँदै संविधानको सफल कार्यान्वयनमा सबै राजनीतिक दलको सहयोगको खाँचो औँल्याउनुभयो । पार्टी एकतालाई पूर्णता दिने क्रममा अध्यक्ष ओली बाधक बनेको उहाँको भनाइ थियो । सो अवसरमा नेकपा केन्द्रीय सङ्घर्ष समितिका संयोजक एवं पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले संसद् पुनःस्थापना नभएसम्म आफूहरुको आन्दोलन नरोकिने बताउनुभयो ।

पार्टी स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेशका इञ्चार्ज अष्टलक्ष्मी शाक्यले लगातार पार्टी कमिटीको बैठक बहिष्कार गर्नाका साथै जनप्रतिनिधिमूलक संस्था विघटन गरेर ओलीले जनभावना विरुद्ध कदम चालेको आरोप लगाउनुभयो । विरोधसभाअघि राजधानीका १३ स्थानबाट जुलूस नगर परिक्रमा गर्दै भृकुटीमण्डप पुगेको थियो ।

Advertisment