हुलाक सेवा विभागद्वारा विभिन्न १५ वटा हुलाक टिकटहरूमा टाँचा प्रदान

हुलाक सेवा विभागद्वारा विभिन्न १५ वटा हुलाक टिकटहरूमा टाँचा प्रदान गरेको छ ।

हुलाक सेवा विभागअन्तर्गत नेपाल फिलाटेलिक तथा हुलाक टिकट व्यवस्थापन कार्यालयको आयोजनामा सन् २०२० को वार्षिक फिलाटेलिक कार्यक्रम अनुसार आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा र हुलाक सेवा विभाग, ववरमहलमा छुट्टाछुट्टै कार्यक्रममा विभिन्न पन्ध्र वटा हुलाक टिकटहरूको प्रथम दिवसीय आवरण टाँचा प्रदान गरको हो ।

सञ्चार मन्त्री श्री पार्वत गुरूङ्

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सिंहदरवारको सभाहलमा आयोजित कार्यक्रममा सञ्चार मन्त्री तथा नेपाल सरकारका प्रवक्ता पार्वत गुरूङ्ले लुम्विनी शान्ति दौड अंकित हुलाक टिकट र राष्ट्रिय जनगणना, २०७८ को लोगो अंकित हुलाक टिकटमा टाँचा लगाउनुभयो भने सञ्चार सचिव हरिप्रसाद बस्यालले एभरेष्ट स्काईडाइभ र नेपाल राष्ट्र बैंकद्वारा जारी रू १ दरको प्रथम कागजी नोट अंकित हुलाक टिकटमा प्रथम दिवसीय टाँचा लगाउनुभयो ।

सञ्चार सचिव श्री हरिप्रसाद बस्याल

त्यस्तै हुलाक सेवा विभागमा आयोजित एक छुट्टै कार्यक्रममा हुलाक सेवा विभागका महानिर्देशक आभा श्रेष्ठ कर्णले रामधुनी मन्दिर, सुनसरी, रेसुंगा यज्ञशाला, गुल्मी लगायत विभिन्न एघार वटा हुलाक टिकटहरूमा प्रथम दिवसीय आवरणमा टाँचा लगाउनु भयो ।

उक्त कार्यक्रममा हुलाक सेवा विभागका निर्देशकहरू विनोदप्रसाद उपाध्याय र यज्ञराज भट्ट, फिलाटेलिक तथा हुलाक टिकट व्यवस्थापन कार्यालयका कार्यालय प्रमुख नोखबहादुर बस्याल, गोश्वारा हुलाक कार्यालयका कार्यालय प्रमुख वेदप्रसाद भण्डारी, केन्द्रीय धनादेश कार्यालयका कार्यालय प्रमुख तथा विज्ञापन बोर्ड कार्यालयका प्रमुख कार्यकारी अधिकृत जानुका सुवेदी लगायत नेपाल फिलाटेलिक सोसाईटीका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो । हुलाक सेवा विभागका महानिर्देशक आभा श्रेष्ठ कर्णले हुलाक टिकटहरू “साईलेण्ट ऐम्वासेडर” रहेका, यिनीहरूले देश विदेशमा हुलाकको प्रचार(प्रसार गर्ने गरेका लगायतका दृष्टान्तहरूका वारेमा प्रकाश पार्नुभयो भने आगामी दिनमा हुलाक सेवालाई सामयीक सुधार गर्दै लैजानुपर्ने कुरामा जोड दिनुपर्ने बताउनुभयो ।

हुलाक सेवा विभागका महानिर्देशक श्री आभा श्रेष्ठ कर्ण – तस्विर सौजन्यः श्री पूर्णकला लिम्बु

कार्यक्रमका सभापति तथा फिलाटेलिक तथा हुलाक टिकट व्यवस्थापन कार्यालयका प्रमुख नोखबहादुर बस्यालले टिकट देशका साना राजदुत रहेका, राजश्वमा टिकटको छुट्टै योगदान रहेको तथा यसको महत्व कहिल्यै नघट्ने भन्दै टिकट डिजाईनिङमा हुलाक सेवा विभागका कला अधिकृत पूर्णकला लिम्वु र व्यवस्थापनमा टिकट कार्यालयका शाखा अधिकृत शालिकराम नेपालको अथक प्रयासका लागि कृतज्ञता व्यक्त गर्दै कार्यक्रमको समापन गर्नुभयो ।

 

Advertisment