लोकतन्त्र, संविधान, स्थिरता र स्थायित्व कमजोर हुने देखेपछि प्रतिनिधिसभा विघटन गरेर नयाँ जनादेशका लागि निर्वाचनमा जान लागिएको : प्रधानमन्त्री

काठमाडौँ, १८ पुस । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा काठमाडौँ जिल्ला कमिटीद्वारा आज आयोजित कार्यकर्ता भेलामा बोल्दै लोकतन्त्र, संविधान, स्थिरता र स्थायित्व कमजोर हुने निश्चित देखेपछि प्रतिनिधिसभा विघटन गरेर नयाँ जनादेशका लागि निर्वाचनमा जान लागिएको बताउनुभयो ।

उहाँले कोभिड नियन्त्रणमा सरकारले प्रभावकारी पहल गरिरहेको भन्दै कम्बोडियाले जहाज चार्टर्ड गरेर औषधि पठाएर सहयोग गरेको जानकारी दिनुभयो । उहाँले सरकारले विकास र समृद्धिको क्षेत्रमा उल्लेख्नीय काम गरेको भन्दै सरकारले गरेका काम जनतामाझ लिएर जाने बताउनुभयो । उहाँले पार्टी एकता भए पनि पार्टी कामको जिम्मा पाएका द्वितीय अध्यक्षले सङ्गठन सुदृढीकरणमा प्रभावकारी कदम नचाली सरकार असफल गराउने काममै केन्द्रित रहँदा पार्टीमा समस्या आएको बताउनुभयो ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रचण्ड–माधवले नेतृत्वमा पुग्नका लागि अस्वभाविक ढङ्गले चलखेल गर्दै केपी ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाउनका लागि षड्यन्त्र गरेका कारण पार्टी विभाजनको स्थितिमा पुगेको आरोप लगाउनुभयो । गृहमन्त्री रामबहादुर थापाले नयाँ जनादेश नै सही मार्गचित्र रहेको औँल्याउँदै गणतन्त्र, सङ्घीयता, समृद्धि र राष्ट्रियतालाई एजेण्डा बनाई निर्वाचनमा केन्द्रित हुने बताउनुभयो । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठल बल्खु र धुम्बाराहीमा रहेको सम्पत्तिमा आफ्नो समूहको रहेको दाबी गर्नुभयो ।

Advertisment