संसद् विघटन राजतन्त्र पुनःस्थापना गर्ने प्रयत्न : अध्यक्ष दाहाल

काठमाडौँ, ७ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जननिर्वाचित प्रतिनिधिसभा विघटन गरेर मुलुकमा फेरि राजतन्त्र पुनःस्थापना गर्ने प्रयत्न भएको बताउनुभएको छ । प्रेस सङ्गठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई आज सम्बोधन गर्दै उहाँले संसद्को अन्य गरेर मुलुकलाई निरङ्कुशता र अनिश्चयको भूमरीतर्फ धकेल्ने प्रयास भएको दावी गर्नुभयो । प्रतिनिधिसभा विघटन गरेर सात दशक लामो सङ्घर्षपश्चात् जनताले प्राप्त गरेका सङ्घीय लोकतान्त्रिक गणतन्त्र, जनताको प्रतिनिधिद्वारा निर्मित संविधानलगायत उपलब्धिलाई समाप्त पार्ने प्रयास भएको जिकिर गर्दै उहाँले यसलाई हरहालतमा रोक्नुपर्ने बताउनुभयो ।

“कसैले नेपाललाई फेरि अनिश्चयको भूमरीमा लैजाने, मुलुकलाई संविधानहीनताको अवस्थामा पु¥याउने, तानाशाहको हातमा लैजाने प्रयत्न गर्छ भने त्यसलाई रोक्ने दायित्व जनताको हो”, उहाँले भन्नुभयो । मुलुकको राजनीतिक परिवर्तनमा सञ्चार जगतको भूमिका अनुकरणीय रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले सञ्चारकर्मीले सङ्घीयता, संविधानसभा र गणतन्त्रको पक्षमा वकालत गरेकै कारण परिवर्तन सम्भव भएको बताउनुभयो ।

परिवर्तनको पक्ष तथा प्रतिगमनको विपक्षमा जनमत निर्माण गर्न पनि सञ्चार जगतको भूमिका महत्वपूर्ण हुने उहाँको भनाइ थियो । “जनताको प्रतिनिधिद्वारा लिखित संविधान बचाउनु छ, परिवर्तनलाई जोगाउनु छ, प्राप्त उपलब्धिको रक्षा गर्न सञ्चार जगतको भूमिका बढेर गएको छ”, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले पार्टी कमिटीको बहुमतको निर्णयलाई सहजै स्वीकार नगर्दा पार्टीभित्र समस्या देखिएको बताउँदै अध्यक्ष दाहालले संसद् विघटन गरेर ओलीले नेपाली जनतालाई धोका दिएको आरोप लगाउनुभयो । “मैले भनेको छु, तपाईंले बाजी हारिसक्नुभयो । लडाइँ हारिसक्नुभयो । संविधानवाद, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र सार्वभौम नेपाली जनताकाविरुद्ध जब तपाईंले तरबार उज्याउनुभयो । तपाईंले लडाइँ हार्नुभयो । जनताले लडाइँ जित्यो,” उहाँले भन्नुभयो ।

नेकपाका अर्का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट पार्टीभित्रैबाट नेतृत्वमा पुगेको व्यक्तिबाट जनप्रतिनिधिमूलक संस्था विघटन गरिनु नेपाली राजनीतिक इतिहासमा बिडम्वना भएको बताउनुभयो । मुलुकको राजनीतिक परिवर्तनमा सञ्चार जगत्को उल्लेख्य भूमिका रहेको स्मरण गर्दै उहाँले सरकारको कदमका विरुद्ध जनतालाई जागृत बनाएर आन्दोलनको आँधीबेहरी सिर्जना गर्न सञ्चारकर्मीलाई आह्वान गर्नुभयो ।

“प्रतिनिधिसभा विघटनबाट सङ्घीयता र परिवर्तन सङ्कटमा परेको छ । यो बेला सही र गलत छुट्याउन सक्नुपर्छ, सत्यको पक्षमा उभिने नै असली नेता हुन्छ, परिवर्तनको रक्षा गर्नु साझा दायित्व बनेको छ”, उहाँले भन्नुभयो । सुन्दर समाजको परिकल्पना साकार पार्न आनदोलन शुरु गरिएको र यसमा पत्रकारको सकारात्मक भूमिका आवश्यक रहेको पनि उहाँको भनाइ थियो ।

पार्टी स्थायी कमिटी सदस्य एवं केन्द्रीय सङ्घर्ष समितिका सहसंयोजक योगेश भट्टराईले जनताको आन्दोलनको बलमा समाज र व्यवस्था बदले पनि पार्टीभित्रको प्रवृत्ति बदल्न नसक्दा मुलुक आजको अवस्थामा प्रवेश गरेको बताउनुभयो । उहाँले संसद् विघटनबाट सात दशक लामो जनताको सङ्घर्षबाट प्राप्त गणतन्त्र, सङ्घीयतालगायत उपलब्धि खतरामा परेको बताउनुभयो ।

Advertisment