सरकार निर्वाचनको तयारीमा जुटिसक्यो, नेकपा फुटेकै छैन् ः मन्त्री ठगुन्ना

काठमाडौं, ७ माघ । संघीय मामिला तथा समान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्नाले वर्तमान सरकार निर्वाचनको तयारीमा जुटिसकेकोले निर्धारित मितिमै चुनाव हुने विश्वास दिलाएका छन् ।
आज (बुधबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री ठगुन्नाले भने,‘अहिले देश जनताको ताजा जनादेश लिनको लागि अगाडि बढेको छ । हामी अहिले निर्वाचनको सम्मुखमा छौं । सरकारले निर्वाचन गर्ने कार्यक्रमहरुको लागि पर्याप्त तयारीहरुको थालनी गरेको छ । त्यहीअनुसारको तयारी र कार्यक्रमहरु अघि बढाएको छ । निर्वाचन अयोगले पनि निर्वाचनसम्बन्धी कामकारबाहीहरू अगाडि बढाएको छ ।’

उनले बलियो सरकार, स्थिर सरकार, प्रगतिशील सरकार आफ्नो सार्वभौमसत्ता रक्षा गर्नको लागि सक्षम हुने उल्लेख गर्दै वर्तमान सरकार नेपालको भौगोलिक अखण्डता रक्षा गर्न पनि सक्षम भएको सुनाए । उनले भने,‘जनताको जनजिविकाको सवालमा पनि निर्वाद रुपमा अगाडि बढाउँदै नेपाललाई एउटा समृद्ध राष्ट्रको रुपमा अगाडि बढाउने अवस्था देखेपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिहरु यो सरकारलाई कमजोर बनाउनतर्फ लागे । त्यसकै प्रतिक्रियास्वरुप जनताबाट अनुमोदित सरकारको विरुद्धमा, कुनै विवाद वा असन्तुष्टि भएपनि ती कुरा पार्टीभित्र राख्नुपर्नेमा संसदमा अविश्वासको प्रस्ताव दर्ता हुन पुग्यो । झण्डै दुई तिहाई बहुमतप्राप्त प्रधानमन्त्रीलाई प्रतिपक्षसँग मिलेर सरकार असफल गराउने खेल सुरु भएपछि, जनताको जनादेश त्यो नभएकोले र जनताले स्थिर सरकार मात्रै खोजेको हुनाले लोकतन्त्रमा सबैभन्दा ठूलो कुरा जनताको जनादेश लिनु नै ठूलो कुरा भएको हुनाले वर्तमान सरकारले निर्वाचनको घोषणा गर्यो ।’

उनले नेकपामा कसले आधिकारिकता पाउँछ ? भनेर सोधिएको प्रश्नमा नेकपा नफुटेको पनि जिकिर गरे । उनले भने,‘नेकपा फुटेकै छैन् । नेकपा छँदैछ । दुई वटा भएको भए पो मान्यताप्राप्त कसले पाउँछ ? भन्ने कुरा आउँछ । नेकपाको नेतृत्व सम्माननीय प्रधानमन्त्री ओलीले गर्नुभएको छ। कुनै नेता तथा कार्यकर्ताले पार्टी छोड्छु भन्नु व्यक्तिगत कुरा हो । संस्थागत रुपमा नेकपा एकीककृत नै छैन् । आधिकारिक पनि त्यही कुरा हो ।’

Advertisment