हिमालय एयरलाइन्स र यती एयरलाइन्सबीच व्यावसायिक सहकार्य

काठमाडौँ, १५ माघ । हिमालय एअरलाइन्स र यती एअरलाइन्सबीच व्यावसायिक सहकार्य हुने भएको छ । उक्त प्रयोजनका निम्ति दुवै एयरलाइन्सले एकापसमा रणनीतिक व्यापार साझेदारी गरेका छन् ।

हिमालय र यती एयरलाइन्सले सञ्जाल एकीकरण, बिक्री वृद्धि विस्तार र दुवै कम्पनीको ई–कमर्श कार्य क्षमतामा क्रमिक विस्तारको लागि साझेदारी गरेका हुन् । एप्लिकेशन प्रोगामिङ इन्टरफेस (एपिआइ) को प्रभावकारी कार्यान्वयनका लागि पहिलो सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठ र यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनोज रिमालले हस्ताक्षर गर्नुभएको यती एयरलाइन्सले जनाएको छ ।

नेपाल र चीनको संयुक्त लगानी रहेको निजी क्षेत्रको हिमालय एयरलाइन्सले हाल मध्यपूर्वी एशिया र दक्षिण एशियाका विभिन्न गन्तव्यमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गरिरहेको छ भने निजी लगानीको यती एयरलाइन्सले नेपालभर सञ्जाल विस्तार गरी विभिन्न आन्तरिक गन्तव्यमा नियमित उडान गर्दै आएको छ ।

Advertisment