सडक सफाई र बोटविरुवा संरक्षणमा चन्द्रागिरिको नजर

  • ज्ञानेन्द्र महत

काठमाडौं । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले नगरको मुख्य सडकको सरसफाइ र सडक डिभाइडर भित्र रहेका बोट विरुवाहरुको संरक्षण गर्न नगरपालिका गम्भीर भएर लागि परेको बताउनु भएको छ ।

कलंकी, नागढुंगा, पिपलामोड सडक खण्डको डिभाईडरमा रहेको बोट बिरुवा संरक्षण तथा सरसफाई कार्यक्रमको औपचारिक उद्घाटन समारोहमा उहाँले काठमाडौं भित्रने, बाहिरिने यात्रु र स्थानीयहरुलाई सडकमा जथाभावी फोहोर नफाली असल नागरिकको परिचय दिन आग्रह गर्नुभयो । प्रमुख गिरीले नगर स्वच्छ, सफा, हराभरा राख्न नगरबासीको सहयोग विना नगरपालिकाले जति खर्च गरेपनि सम्भव नहुने उल्लेख गर्नुभयो । उहाँले नगरबासीको सुरक्षार्थ सडकमा सीसी टिभी जडान गरिसकेको र अबका केही दिनमा सडक बत्ती समेत राखिसक्ने जनकारी गराउनु भयो । उहाँले नगरपालिका भित्र जथाभावी टाँसिएका होर्डिङबोट, पोस्टर, पम्प्लेट हटाइने र अबका दिनमा टाँसिएको भेटिए कडा कारवाही गर्न महानगरीय प्रहरी बृत्त थानकोटनलाई आग्रह गर्नुभयो ।

प्रमुख गिरीले कलंकी देखि नागढुंगा, पिपलामोडसम्मको सडक र सडकमा रोपिएका बोटविरुवा संरक्षण र सरसफाइको जिम्मा मातृभूमि संरक्षण प्रालीलाई दिइएको उल्लेख गर्नुभयो । उहाँले उक्त प्रालीले हप्तामा एक पटक सडक सरसफाइ गर्ने र सडकमा रोपिएका विरुवामा हप्ताको तीन पटकसम्म पानी राख्ने गरी एक वर्षको जिम्मेवारी दिइएको बताउनु भयो ।

कार्यक्रममा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीयबासी, नगरपालिकाका कर्मचारीलगायतको उपस्थिति रहेको थियो । मातृभूमि संरक्षण प्रालीले उक्त कार्य गरेबापट वर्षको ८ लाख ४० हजार रुपैयाँ पाउने छ ।

Advertisment