जित शेरचनको पहलमा ढोरपाटनमा स्वाब संकलन, आइसोलेसन तयार हुँदै

बागलुङ : बागलुङमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर तीव्र गतिमा फैलिरहेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञा दोस्रो पटक थपेर जेठ १५ गतेसम्म पुर्याइएको छ . हालसम्मम्म बागलुङमा कोरोना संक्रमितको संख्या १ हजार ६७७ जना पुगेको छ भने संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ । बागलुङका कतिपय विकट गाउँमा जनशक्ति, किट तथा विभिन्न उपकरणको अभावमा कोरोना परीक्षण सहजरुपमा हुन सकेको छैन । यसैक्रममा नेपाली कांग्रेसका नेता एवं जितबहादुर शेरचनको अगुवाइमा ढोरपाटन नगरपालिकामा पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । ४३ जनाको स्वाब संकलन समाजसेवीसमेत रहेका शेरचनको पहलमा धौलागिरी अञ्चल अस्पताल बागलुङबाट भीटीएन किट ल्याएर ढोरपाटन नगरपालिकाका ४३ जनाको स्वाब संकलन गरिएको छ ।

संकलित स्वाब पीसीआर परीक्षणका लागि बागलुङ सदरमुकाममा पठाइएको शेरचनले जानकारी दिए । शेरचनले भने, ‘धौलागिरी अञ्चल अस्पतालबाट भीटीएन किट मगाएर यहाँ हामीले नगरपालिका तथा प्राथमिक स्वास्थ्य केन्द्रको सहयोगमा ४३ जनाको स्वाब संकलन ग¥यौं, स्वाब परीक्षणका लागि चाहिँ सदरमुकाम पठाएका छौं ।’ कोरोना परीक्षण समयमै गरेर संक्रमित पहिचान गर्न सके संक्रमण फैलन केही हदसम्म कम हुने उनको भनाइ थियो । शेरचनले परीक्षण चाँडो भएमा संक्रमितले उपचार पनि चाँडो पाउने र अवस्था जटिल नहुने हुँदा आफु नगरवासीको कोरोना परीक्षण गराउन लागिपरेको बताए । आइसोलेसन तयार हुँदै त्यस्तै शेरचनको पहलमा ढोरपाटन नगरपालिकामा २० शय्याको आइसोलेसन कक्ष निर्माण अन्तिम चरणमा पुगेको छ ।

आइसोलेसन कक्षमा बेड राख्ने कार्य सकिएको र अब अक्सिजनको व्यवस्था गर्न मात्र बाँकी रहेको शेरचनले जानकारी दिए । ‘संक्रमितलाई उपचार दिने उद्देश्यले हामीले २० शय्याको आइसोलेसन कक्ष निर्माण गरेका छौं, त्यसमा बेड राख्ने काम सम्पन्न भइसकेको छ, अब अक्सिजनको व्यवस्था गर्न बाँकी छ ।’ आइसोलेसन निर्माण तथा व्यवस्थापनका लागि शेरचनको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको छ । जसमा वुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रका डा. मिलन हमाल सदस्य सचिव छन् भने ढोरपाटन नगरपालिका वडा नं १ का वडाध्यक्ष चित्र भण्डारी सदस्य रहेका छन् ।

आइसोलेसन कक्ष निर्माणमा नगरकै जनशक्ति परिचालन गरिएको उनले बताए । पोखराबाट अक्सिजन भरेर ल्याएसँगै आइसोलेसन कक्ष सञ्चालनमा आउने उनको भनाइ थियो । कोरोना नियन्त्रण तथा आइसोलेसन निर्माणका लागि शेरचनले विदेशबाट सहयोग जुटाउने पहल समेत गरेका छन् । क्यानडामा रहेको नेपाल च्यारिटी हेरिटेजबाट आर्थिक सहयोग जुटाउन आफुले पहल गरिरहेको जानकारी दिए । नगरवासीहरुले पनि आइसोलेसन लगायतका कोरोना नियन्त्रणका कार्यमा आर्थिक सहयोग गर्ने इच्छा देखाएको शेरचनले जानकारी दिए । अब केही दिनमा नै सहयोग जुट्ने र नगरमा कोरोना नियन्त्रणका लागि केही राहत हुने उनले बताए ।

Advertisment