अक्सिजन र सिलिन्डर व्यवस्थापनमा मुलुककै ध्यान केन्द्रित

काठमाडौँ। विश्व्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको वृद्धिसँगै अधिकांश क्षेत्रमा अक्सिजन र सिलिन्डर अभाव भएपछि त्यसको उचित व्यवस्थापनमा मुलुक कै ध्यान केन्द्रित भएको छ ।

सरकारीस्तरबाट नयाँ सिलिन्डर ल्याउने र अनावश्यक क्षेत्रमा प्रयोग भएका सिलिन्डरको समुचित व्यवस्थापन प्रक्रिया अघि बढेको छ भने निजी क्षेत्र, अस्पताल तथा आम सर्वसाधारणसमेत त्यसको व्यवस्थापनमा जुटेका छन् । गैरआवासीय नेपाली पनि सिलिन्डर व्यवस्थापनमा देखिएका छन् ।

गत वैशाख दोस्रो हप्तापछि कोभिड–१९ को सङ्क्रमणले एक्कासि गति लिँदा मुलुकभर अक्सिजन सिलिन्डरको हाहाकार भएको थियो । अस्पतालमा बिरामीको चाप बढ्ने र आएका बिरामीमध्ये अधिकांशलाई अक्सिजन दिनैपर्ने अवस्थाले अक्सिजनको माग बढी तर आपूर्ति कम हुँदा कतिपय बिरामीले मृत्युवरण गरेका घटना सार्वजनिक भएका छन् । नेपालको पश्चिम क्षेत्र रुपन्देही, बाँके, सुर्खेत मात्रै होइन राजधानी काठमाडौँमा समेत चरम समस्या देखियो ।

अक्सिजन नपाएर अस्पताल परिसरमा बिरामी र तिनका आफन्त हारगुहार माग्दै गरेका दृश्य सामाजिक सञ्जालमा देखिए । कतिपय अस्पतालले अक्सिजन सकिएकाले बिरामी भर्ना नलिने भन्दै सार्वजनिक गरेका थिए । अक्सिजन भए पनि सिलिन्डरको पर्याप्तता नभएको र भएका सिलिन्डरसमेत घरघरमा राख्ने प्रवृत्तिले अभाव हुँदा ती जटिलता आएका थिए ।

सरकार, सरोकारवाला संस्था र जनसमुदाय आ–आफ्नै तवरले अक्सिजनको व्यवस्थापनमा जुटेका थिए । उचित व्यवस्थापन नहुँदा अभावबीच थप हाहाकार भएको अक्सिजन उत्पादक बताउँछन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जोगेश्वर गौतम सही ठाउँमा प्रयोग नुहँदा विगतमा समस्या भएको र अहिले त्यसलाई मन्त्रालयले व्यवस्थित गर्दै लगेको जानकारी दिनुहुन्छ ।

नयाँ सिलिन्डर आउने क्रममा पनि रहेका र अन्यत्र प्रयोग भएका तथा घरघरमा राखिएका सिलिन्डर निस्किन थालेकाले अहिले विगतको जस्तो समस्या नभएको डा गौतमको भनाइ छ । मन्त्रालयले अहिले अक्सिजन व्यवस्थापनका लागि विभिन्न मापदण्ड नै बनाएर लागू गर्न थालेको छ । यद्यपि अझै पर्याप्त भने हुन सकिरहेको छैन ।

“आइसियू, भेन्टिलेटर र वार्डमा अक्सिजन लगाएकाको आधारमा मापदण्ड बनाएर अक्सिजन वितरण गर्न लागिएको छ, घरमा राख्ने क्रमलाई निरुत्साहित गर्दै त्यस्ता सिलिन्डर निकाल्ने काममा प्रहरी टोली नै परिचालित छन्”, डा गौतमले रासससँग भन्नुभयो, “अक्सिजनको अनावश्यक प्रयोग भएको आशङ्कासमेत रहेकाले कुन बिरामीलाई कति अक्सिजन दिने भनेर अनुगमन पनि भइरहेको छ ।”

उहाँले कोभिड र अन्य आकस्मिकबाहेकका शल्यक्रियालाई रोक्न भनिएको र विभिन्न स्थानमा अक्सिजन प्लान्ट स्थापना गर्न अनुरोध गरिसकेको जानकारी दिनुभयो । सरकारी तहका प्रायः अस्पतालमा अहिले अक्सिजन प्लान्ट बनिसकेका छन् । निजी क्षेत्रका अस्पताल पनि उक्त अभ्यासमा जुटेका छन् ।

नेपाल सरकार स्वदेश तथा विदेशबाट सिलिन्डरको जोहो गर्नतर्फ लागेको छ । निजी क्षेत्र, आम समुदाय तथा गैरआवासीय नेपालीसमेत सिलिन्डरको व्यवस्थापनमा जुटेकाले केही आशाको दियो बल्ने सङ्केत मिलेको छ ।

चीन सरकारले अनुदानमा दिएका १८ हजार सिण्डिलर आज नेपाल प्रवेश भइसकेका छन् । हवाइमार्गबाट पनि सिलिन्डर आउनेक्रममा रहेकाले अब अक्सिजनसम्बन्धि हुने समस्या टर्दै जाने मन्त्रालयका प्रवक्ता डा गौतमको जिकिर छ । शनिबार मध्यपूर्वमा रोजगारीमा रहेका नेपालीद्धारा खरिद गरी पठाइएका ५६० सिलिन्डर नेपाल आइसकेका छन् । News From : https://gorkhapatraonline.com/

Advertisment