चितवन समाज अष्ट्रेलियाद्वारा भरतपुर अस्पताललाई ११ लाखका सिलिण्डर

चितवन, ४ जेठ \  चितवनमा मूल घर भएर अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरुको संस्था चितवन समाज अष्ट्रेलियाले भरतपुर अस्पताललाई रु.१० लाख ७५ हजार बराबरको अक्सिजन सिलिण्डर सहयोग गरेको छ । संस्थाले तीन चरणमा गरेर ६० वटा अक्सिजन सहितको सिलिण्डर सहयोग गरेको हो ।

संस्थाका अध्यक्ष पूर्णनाथ घिमिरेका अनुसार ५० वटा अक्सिजन सहितको सिलिण्डर खरिद गरेर र १० वटा धरौटीमा अस्पताललाई उपलब्ध गराईएको हो । धरौटीमा रहेका १० वटा पनि खरिद गरी अस्पतालकै स्वामित्वमा हस्तान्तरण गरिने उहाँले बताउनुभयो । संस्थाले आज थप २० वटा सिलिण्डर हस्तान्तरण गरेसँगै अस्पताललाई दिइएको सङ्ख्या ६० पुगेको छ । अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. जगन्नाथ तिवारीलाई ती सिलिण्डर हस्तान्तरण गरिएको हो ।

सो अवसरमा तिवारीले अस्पताललाई अत्यावश्यक पर्ने सिलिण्डर हस्तान्तरण गरेकोमा अष्ट्रेलियामा बसोबास गर्ने चितवनवासीलाई विशेष धन्यवाद दिनुभयो । घिमिरेका अनुसार त्यहाँ रहेका चितवनवासीले आर्थिक संकलन गरेर अक्सिजन खरिदका लागि सहयोग गरेका हुन् । समाजले संस्थाका संरक्षक केशवप्रसाद सापकोटाको संयोजकत्वमा पूर्णनाथ घिमिरे, विकास बर्ताैला, सीता सुवेदी र श्यामसुन्दर गिरी सदस्य रहेको आर्थिक सङ्कलन समिति बनाएर सहयोग जुटाएको हो ।

Advertisment