विश्वासको मत लिने समय नभएकाले नयाँ प्रक्रिया चालेँ ः प्रम

काठमाडौँ, ७ जेठ \ प्रधानमन्त्री केपी शर्मा ओलीले यही जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था भएको तर त्यसबीचमा सरकारले विश्वासको मत लिने समय नभएकाले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गरिएको बताउनुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मौजुदा सरकारले विश्वासको मत लिन सक्ने बलियो राजनीतिक आधार नभएको भनी प्रधानमन्त्री ओलीको आग्रहका आधारमा नेपालको संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको भोलिपल्ट आज उहाँले प्रधानमन्त्री निवासमा पत्रकार भेटघाट गर्दै उक्त धारणा राख्नुभएको हो ।

प्रधानमन्त्रीले ओलीले गत एक वर्षदेखि सरकार ढाल्ने तथा नयाँ सरकार बनाउने अस्थिर र अस्वस्थ राजनीतिक गतिविधि भई सरकारले राम्रोसँग काम नसकेकाले निकासका लागि संवैधानिक प्रक्रियाबमोजिम उपधारा ५ का बाटामा अघि बढिएको जनाउनुभयो । उहाँले अनुचित अभ्यासको राजनीतिलाई उचित अभ्यासमा लान आफूले गत वैशाखका लागि मध्यावधि निर्वाचन घोषणा गरेकामा सर्वाेच्च अदालतको फैसलबाट सफल नभएको र आफूले वैशाख २७ गते लिएको विश्वासको मत अस्वीकृत भएको तथा फेरि पनि विश्वासको मत पाउन सक्ने स्थिति नरहेको स्पष्ट गर्नुभयो । उहाँले संविधानको व्याख्या गर्दा देशको राजनीतिक परिस्थितिको विश्लेषण गरेर उत्पन्न समस्याको सम्बोधन गर्ने गरी कदम चालिएको पनि बताउनुभयो ।

Advertisment