वैकल्पिक माध्यमबाट एसइई परीक्षा गर्ने गृहकार्य भएको छ : मन्त्री श्रेष्ठ

काठमाडौँ, १० जेठ \  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले गत वर्षको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) सञ्चालनको विकल्पका बारेमा छलफल भइरहेको बताउनुभएको छ ।

सत्तारुढ नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको ज्ञापनपत्र बुझ्दै आज उहाँले भौतिक रुपमा परीक्षा गर्ने सम्भावना न्यून रहेकाले एसइई र कक्षा १२ को परीक्षाका विषयमा मन्त्रालयले छलफल गरिरहेको बताउनुभयो । सङ्गठनका अध्यक्ष ऐन महरसहितको टोलीले कोभिड–१९को विषम अवस्थामा शिक्षा क्षेत्रमा आवश्यक प्रबन्ध गर्न माग गर्दै मन्त्री श्रेष्ठलाई १३ बुँदे ज्ञापनपत्र बुझाएको थियो । मन्त्री श्रेष्ठले आगामी आर्थिक वर्षको बजेटमा शिक्षाको बजेट बढ्न सक्ने र नयाँनयाँ योजना आउनसक्ने बताउनुभयो ।

मन्त्री श्रेष्ठले सबै विश्वविद्यालयका रोकिएका परीक्षा सुचारु गर्नुपर्ने र अनलाइनमा कक्षा लिएबापत्को शुल्क घटाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “सबै सामुदायिक विद्यालयमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने विषयमा सम्बन्धित निकायसँग छलफल भइरहेको छ ।” मन्त्रालयका सचिव रामप्रसाद थपलियाले एसइई र कक्षा १२ को परीक्षाको ढाँचाका विषयमा मन्त्रालयले दुई–तिन दिनभित्र निर्णय गर्ने बताउनुभयो ।

Advertisment