माधव नेपाल जननेता हुनुभयो, प्रधानमन्त्री देउवाको हाईट बढ्यो ः महेन्द्र यादव

काठमाडौं, १८ साउन । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री महेन्द्र यादवले नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाललाई जननेताको संज्ञा दिएका छन् । नेता नेपालले पार्टीभन्दा माथि उठेर राजनीतिक व्यवस्था, संविधान, लोकतन्त्रको पक्षमा आफूलाई उभ्याएको र सोहीअनुसार भूमिका खेलेको यादवको भनाई छ ।

आज (सोमबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘माधव नेपालले पार्टीभन्दा माथि उठेर आफ्नो भूमिका निर्वाह गर्नुभयो । संविधान, व्यवस्था र कानूनको रक्षाको लागि अडान लिनुभयो । अब उहाँलाई एमालेले कारबाही गरेर उहाँको हाईट घट्दैन्, बरु बढ्छ ।’ उनले माधव नेपाललाई गिरिजा प्रसाद कोइरालासँग तुलना गरे । उनले भने,‘जसरी गिरिजाबाबु सबैले भरोसा गर्न योग्य नेता हुनुहुन्थ्यो, अहिले माधव नेपालपनि त्यस्तै हुनुभएको छ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले माधव नेपाल समूहपनि ढिलो÷चाँडो सरकारमा सहभागी हुने विश्वास दिलाए । उनले प्रधानमन्त्री शेरबहादुर देउवाले जुनसुकै बेला पनि मन्त्रिपरिषद् विस्तार गर्न सक्ने सुनाए । उनले भने,‘कांग्रेस अरु दललाई बिच्काउन चाहँदैन् । उहाँहरुलाई पूरै सन्तुष्ट गरेर नै अघि बढ्छौं । बरु, कांग्रेसले एक÷दुई वटा मन्त्रालय नै कम लिन्छ ।’

उनले कांग्रेसको क्रियाशिल सदस्यताको विवादपनि समाधानको चरणमा रहेको सुनाए । उनले यो हप्ताभित्रै विवाद समाधान हुने दाबी गरे । उनले महाधिवेशन भदौको अन्तिम साताबाट प्रारम्भ भएर मंसिर÷पुषसम्म सम्पन्न गरिसक्ने पनि सुनाए । उनले प्रधानन्त्री तथा पार्टी सभापति देउवाको पछिल्लो समय हाईट बढेको र विपीको स्थानमा पुग्नसक्ने पनि सुनाए । उनले भने,‘अहिले प्रधानमन्त्रीज्यूप्रति जनताको सम्मान बढेको छ । उहाँको हाईट धेरै बढेको छ । उहाँ सबैले भरोषा गर्न योग्य व्यक्ति हो ।’

उनले पार्टीमा सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल अनुभवी र खारिएको नेता भएको पनि सुनाए । उनले आफूहरुलाई नेतृत्वमाथि पूर्ण विश्वास र भरोसा रहेको पनि सुनाए । उनले पार्टी सभापति देउवामा समन्वयकारी क्षमता भएको पनि सुनाए ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले सत्तापक्षलाई केपी ओलीमुक्त नेपाल बनाउने सपना नदेख्न चेतावनी दिएका छन् । उनले भने,‘सत्तापक्षले केपी ओलीमुक्त नेपाल बनाउँछौं भनेको छ, यो घृणास्पद अभिव्यक्ति हो । यो खेदजनक छ । केपी ओलीमुक्त नेपाल भनेको के हो ?
नेता पोखरेलले कांग्रेस, माओवादी केन्द्रलगायतको गठबन्धनलाई दक्षिणपन्थी गठबन्धनको संज्ञा दिएका छन् । उनले सत्तापक्षीय गठबन्धनले केपी ओलीमुक्त नेपाल बनाउँछौं भनेर घोषणा गरेपनि त्यो उनीहरुको पराजित मानसिकता भएको टिप्पणी गरे ।

सहमतिमा नआए माधव नेपाललगायत उनको समूहका नेताहरुलाई २०५४ सालमा वामदेव गौतमलाई माधव नेपालले जसरी कारबाही गरेका थिए त्यसैगरि कारबाही गर्ने पनि उनको भनाई छ ।
जनता समाजवादी पार्टी, नेपालका कार्यकारिणी सदस्य तथा २ नम्बर प्रदेशका प्रदेशसभा सदस्य मनिष सुमनले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम पार्टीेका तीन नेताले यथाशक्य चाँडो टुँगो लगाउने स्पष्ट पारेका छन् । उनले भने,‘हाम्रो पार्टीको कार्यकारिणी समितिको बैठकले मन्त्री चयन गर्ने जिम्मा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई जिम्मा दिएको छ । उहाँहरुले निर्णय गर्नुहुन्छ ।’
नेता सुमनले सत्तापक्षीय गठबन्धनले छोटो छरितोमा सरकारको लागि साझा कार्यक्रम ल्याउनेपनि बताए । उनले भने,‘हामीले लामो कार्यक्रम ल्याउँदैनौं । साझा कार्यक्रम बुलेट प्वाईन्टमा आउँछ ।’
उनले भने,‘अहिले सरकारमा सहभागिताको विषयमा माधव नेपाल समूहको पोजिसन क्लियर भएको छैन्, उहाँहरुको पोजिसिन क्लियर भएपछि त्यो टुँगो लाग्ला । तर, माधव नेपालले जे निर्णय गरेपनि स्वागतयोग्य नै हुन्छ ।’

Advertisment