कास्की, १७ असोज \ अभिनाश तामाङको दोहोरो ह्याट्रिकसँगै घरेलु टोली सविन मेमोरियलले पोखरामा जारी ‘ए डिभिजन’ राष्ट्रिय फुटसल लिगमा महत्वपूर्ण जीत दर्ता गरेको छ । पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आज भएको प्रतिस्पर्धामा सविन मेमेरियलले प्रभातफेरी युथ क्लबमाथि ८–४ गोल अन्तरको जीत निकालेको हो । जीतसँगै आठ खेलबाट १३ अङ्क जोडेको सविनको ‘प्ले अफ’मा पुग्ने सम्भावनासमेत कायमै राखेको छ ।
समान खेलबाट प्रभातफेरीको भने सात अङ्क मात्र छ । तामाङले पहिलो हाफको पाँचौँ मिनेटमा गोल गर्दै अग्रता दिलाएकामा १२औँ मिनेटमा दुई गोल गर्दै पहिलो ह्याटिक गर्नुभयो । यसैगरी दोस्रो हाफको २२औँ र २३औँ तथा ३०औँ मिनेटमा गोल गर्दै दोस्रो ह्याट्रिक पूरा गर्नुभएको थियो । लिगको एकै खेलमा दोहोरो ह्याट्रिक गर्ने पहिलो खेलाडी बन्नुभएका तामाङ लिगकै सर्वाधिक गोलकर्ता खेलाडीको सूचीमा रहनुभएको छ । उहाँले हालसम्म १८ गोल गर्नुभएको छ । सविनका मनोज गुरुङले दुई गोल गर्नुभएको थियो । प्रभातफेरीका डोना थापाले दुई तथा एक्लेस कार्की र नवीन लामाले एक/एक गोल गर्नुभयो । यसैगरी ढुकु फुटसल केन्द्र र मछिन्द्र स्काइ गोल्सका बीचको खेलमा ढुकु फुटसल विजयी भएको छ । ढुकुले मछिन्द्रलाई ७–५ गोल अन्तरले पराजित गर्न सफल भयो । ढुकुको जीतमा विक्रान्त नरसिंह रानाले चार, उरकेन शेर्पा र प्रसिद्ध मगरले एक÷एक गोल गर्नुभयो । मछिन्द्रका लागि अमित तामाङले दुई तथा मनोज राई, आशिष सुनम र कप्तान संजोग चाम्लिङले समान एक÷एक गोल गर्नुभयो ।
अन्तिम खेलमा शङ्खमूल फुटसलले झरना फुटसललाई ७–० को फराकिलो गोल अन्तरले पाखा लगायो । शङ्खमूलका जेनिस प्रजापतिले ह्याट्रिक गर्नुभयो । योगेश श्रेष्ठ, सविन खड्का, आरजु सिंह र क्रिजल खड्काले समान एक/एक गोल गर्नुभएको थियो । अखिल नेपाल फुटबल सङ्घ(एन्फा)ले देशमै पहिलोपटक फुटसल लिगको आयोजना गरेको हो । असोज २ गतेदेखि सञ्चालन भइरहेको लिग आगामी असोज २२ गतेसम्म जारी रहनेछ । लिगको विजेताले रु १० लाख तथा उपविजेताले रु पाँच लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । लिगको उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र उदीयमान खेलाडीले जनही रु २५ हजारका दरले पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।