कृषि औजार, अनुसन्धान, कौशी खेती र विज्ञ सेवासहित स्मार्ट कृषि विस्तारमा नेपाल एग्रो लाईभ ललितपुरको सक्रियता

 

काठमाडौँ, २७ असोज । नेपालको हावापानी र भूगोल सुहाउँदो खेतीबालीको अनुसन्धान गरी स्थानीय स्रोत र साधनसहित आधुनिक प्रविधिको प्रयोग गरेर बढी उत्पादन हुने कृषि प्रणाली अवलम्बन गर्नुपर्ने आवश्यकता औल्याइएको छ । आधुनिक कृषि प्रविधि, सीप र शिक्षा दिएर ‘स्मार्ट कृषि’ तर्फ किसानलाई आकर्षित गर्न सके कम लगानीबाट बढी उत्पादन र नाफा आर्जन गर्न सकिने उनीहरुको भनाइ छ ।नेपाल एग्रो लाईभ प्रालिले गत शुक्रबार यहाँ आयोजना गरेको कृषि क्षेत्रमा व्याप्त जलवायु परिवर्तनसँग समयानुकुल हुने स्मार्ट कृषि प्रविधि प्रवद्र्धनका लागि “व्यवसाय मैत्री स्मार्ट कृषि प्रविधि” विषयक अन्तरक्रियाका सहभागीले सो धारणा व्यक्त गरेका हुन् ।

कृषि क्षेत्रको व्यावसायिकरण तथा व्यवसायउन्मुख कृषकलाई सेवा प्रदान गर्ने उद्देश्यले लामो समय सो क्षेत्रमा योगदान गरेका विज्ञद्वारा सञ्चालित नेपाल एग्रो लाईभले कृषि क्षेत्रमा कार्यरत निजी सामुदायिक व्यावसायी, उद्यमी, स्थानीय कृषक समूह, सङ्घीय, प्रदेश सरकार, स्थानीय तह मातहतका निकाय तथा गैह्र सरकारी संस्थासँग सहकार्य गर्दै आइरहेको छ । विशेषत ६ वर्ष यता साना सिँचाई प्रविधि, वाली उत्पादन प्रणाली, प्रविधि हस्तान्तरण, प्रविधि परीक्षण तथा परामर्श सेवा, कृषि सामग्री विक्री वितरण, वजार सहरीकरण तथा कृषि अभिमूखिकरणका क्षेत्रमा किसान र विज्ञहरुको समन्वयमा सातै प्रदेशमा काम गर्दै आईरहेको प्रालिका कार्यकारी प्रमुख राजन गैरेले बताउनुभयो ।

कार्यक्रममा सिँचाइ विशेषज्ञ वासुदेव लोहनीले जस्तो भूगोल छ त्यस्तै बाली, प्रविधि र प्रणाली प्रयोग गर्नुपर्ने बताउनुभयो । उहाँले न्युनतम स्रोत, साधन र लगानीमा बढी उत्पादन र प्रतिफल किसानलाई दिने गरी स्मार्ट कृषिको अवधारणालाई बढावा दिनुपर्ने सुझाव दिनुभयो ।“ दिगो विकास हुने गरी स्मार्ट कृषि र प्रविधिको प्रयोग हुनुपर्छ, किसानलाई स्मार्ट बनाउन उनीहरुलाई नै शिक्षा दिनुपर्छ”, लोहनीले भन्नुभयो ।
त्यस्तै बागवानी विशेषज्ञ डा. कुमार लामाले स्मार्ट कृषिका नाममा उत्पादन बढाउने भन्दा पनि लागत बढाउने काम भएको छकि भन्ने भन्ने प्रश्न गर्दै किसानलाई कसरी नाफा आर्जन गर्न उत्पे्ररित गर्न सक्छौ भन्नेमा ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयो । “ विश्वमा स्मार्ट कृषि प्रविधिको लहर बढेको छ, तर किसानको उत्पादन लागत घटाएर उत्पादन र नाफा बढाउनुपर्छ, स्थानीय स्रोत साधनसँग प्रविधिको प्रयोगको संयोजन गर्नुपर्छ”, लामाले भन्नुभयो ।

नेपाल एग्रो लाइभ प्रालिका प्रमुख कार्यकारी निर्देशक राजन गैरेले दिगो कृषिको आधार आधुनिक प्रविधिको विस्तार भन्ने नारासहित खेतीबालीको अनुसन्धान गरी किसानको घरदैलोमा पुगेर विज्ञसेवासहित प्राविधिक ज्ञान सिकाएर उनीहरुको आर्थिक अवस्था उकास्न काम गरिरहेको बताउँनुभयो ।“ धेरै उच्च प्रविधिको प्रयोगभन्दा पनि नेपाल सुहाउँदो प्रविधिको प्रयोग गरी कृषि उत्पादन बढाउनुपर्छ, हामी कृषि, औजार उपकरण बेच्ने होइन उत्पादन बढाउन उत्प्रेरक संस्था हौ”, कार्यकारी प्रमुख गैरेले भन्नुभयो ।


भर्चुअल रुपमा आयोजित सो कार्यक्रममा देशका झण्डै २२ बढी कृषि क्षेत्रमा क्रियाशील गैह्रसरकारी क्षेत्रका प्रतिनिधि र सरोकारावलाको सहभागिता रहेको प्रालिका संयोजक सार्थक गैरेले बताउनुभयो । कार्यक्रममा वाली विशेषज्ञ रोशन सुवेदी, सहभागीहरु सुजन कोइराला, विक्रम नेपाली, कुसल रावल र व्यवसाय विकास प्रवन्धक आशा क्षेत्रीले उत्पादित वस्तुको बजारीकरण, भूगोल अनुसार अनुन्धान तथा प्रविधि र प्राविधिकको उपलब्धता एवम प्रविधि पुगेपनि प्रयोगमा कमजोरी रहेकोले किसानलाई त्यसबारे शिक्षित बढाउनुपर्ने धारणा राख्नुभयो ।

Advertisment