ट्रमको विपक्षमा रिपब्लिकन सिनेट सदस्यद्वारा मतदान

वासिङ्टन । संयुक्त राज्य अमेरिकाको संसदको माथिल्लो सदन सिनेटले दक्षिणी सीमानामा पर्खाल बनाउनको लागि रकमको जोहो गर्न राष्ट्रपति डोनल्ड ट्रम्पले घोषणा गरेको राष्ट्रिय संकटकाल उल्ट्याउने पक्षमा मतदान गरेको छ । आफ्नो पार्टीको निर्देशन विपरीत तथा राष्ट्रपतिको आदेशको विपक्षमा १२ जना रिपब्लिकन सिनेट सदस्यहरूले मतदान गरेपछि ट्रम्पको योजना प्रभावित हुने अवस्था आएको हो ।

ट्रम्पले एक ट्विट सन्देशमा आफूले अब विशेष अधिकार ( भिटो) प्रयोग गरेर भएपनि आफ्नो योजना सफल पारिछाड्ने प्रतिक्रिया दिएका छन् । तर विपक्षी डेमोक्रयाटिक पार्टीको वर्चश्व रहेको प्रतिनिधिसभाका डेमोक्रयाटिक पार्टीका नेताका एक सहयोगीले राष्ट्रपतिको कदम फेरि सदनबाट उल्टिइने बताउनुभएको छ । सिनेटमा डेमोक्रयाटिक पार्टीका नेताले राष्ट्रपतिको विपक्षमा मतदान गर्ने सत्तारुढ दलका सिनेटरहरूलाई धन्यवाद ज्ञापन गरेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले अमेरिकी विज्ञहरूलाई उद्धृत गरी भनेका छन्, “रिपब्लिकन पार्टीका सिनेटरहरूले गरेको यो ठूलो विद्रोह हो र यो ट्रम्पका लागि एक प्रकारको धक्काको रूपमा आएको छ ।” उनीहरूका अनुसार यो कदम पर्खाल योजनाप्रति सिनेटरको विरोध नभएको तर कंग्रेसको संवैधानिक अधिकार मिचेर संकटकाल घोषणा गर्ने राष्ट्रपति ट्रम्पको कदमप्रति क्रुद्ध भएपछि आएको स्वतन्त्र निर्णय थियो । पर्खाल परियोजनाका लागि आवश्यक पर्ने सबै रकम दिन कंग्रेस तयार नभएपछि ट्रम्पले संकटकालको बाटो रोन्ने बताउँदै आएका थिए ।

Advertisment