पाल्पाको रैनादेवी छहरा–५ मुझुङ्गमस्थित कालिका माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना

पाल्पा, २२ माघ \ पाल्पाको रैनादेवी छहरा–५ मुझुङ्गमस्थित कालिका माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ । मुझुङ्गका नारायण बहादुर रायमाझीले बुबा चीत्र बहादुर रायमाझीको चौरासी पूजा नगरी सो वापतको रकम एक लाख ५१ हजार रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको विद्यालयले जनाएको छ ।

विद्यालयमा अध्ययनरत कक्षा १ देखि १० सम्मका असहाय तथा जेहेन्दार विद्यार्थीलाई सहयोग गर्न बुबा र स्वर्गीय आमा बोधकुमारीको नाममा अक्षयकोष स्थापना गर्नुभएको विद्यालयका प्रधानाध्यापक श्रमण अर्घालीले बताउनुभयो ।
यसैबीच रुपन्देहीको बुटबल उपमहानगरपालिका ६ अस्पताल लाइनका हर्क बहादुर कार्की र श्रीमती मीना कुमारीले स्वर्गीय बुबा ललित बहादुर र आमा जानुकुमारीका नाममा एक लाख एक हजार एक सय ११ रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको हो । सो विद्यालयमा अक्षयकोषले जेहेन्दार विद्यार्थीलाई सहयोग प्रदान गर्ने प्रअ अर्घालीले बताउनुभयो । विद्यालयको निर्माणधिन चार कोठे भवन बनाउन ११ हजार १ सय ५५ रुपैयाँ हर्क बहादुरले सहयोग गर्नुभएको छ ।

Advertisment