सुरुङ मार्गको ४५ प्रतिशत काम सकियो

काठमाडौँ (नागढुङ्गा)। नेपालकै पहिलो प्रविधियुक्त नौबिसे–नागढुङ्गा सुरुङ मार्ग निर्माणको काम ४५ प्रतिशत सकिएको छ । अहिले नागढुङ्गा र नौबिसे दुवैतर्फबाट सुरुङ खन्ने काम भइरहेको छ । दुवै नाकाबाट एकसाथ दुईवटा सुरुङ खनिएका छन् । त्यसमध्ये साढे नौ मिटर चौडा भएको मुख्य र ४.७५ मिटर चौडाइ भएको दोस्रो सुरुङ खनिएको छ ।

सुरुङ मार्गमा खटिएका प्राविधिक टोलीका सहसंयोजक (डेपुटी टिम लिडर) इन्जिनियर अच्युत भट्टका अनुसार नागढुङ्गातर्फको नाकाबाट मुख्य सुरुङको चार सय ७४ दशमलव २० मिटर टनेल खनिएको छ । नौबिसेतर्फको नाकाबाट पनि ४७४.४ मिटर सुरुङ खनिसकिएको छ ।

सहायक सुरुङको नागढुङ्गा नाकाबाट ७९० मिटर र नौबिसेतर्फको नाकाबाट ५७० मिटर खनिसकिएको छ । मुख्य सुरुङको कुल लम्बाइ दुई हजार ६८८ र सहायक सुरुङको कुल लम्बाइ दुई हजार ५५७ मिटर छ । भट्टले भन्नुभयो, “समग्रमा आजसम्म ४५ प्रतिशत काम सकिएको छ । तोकिएकै समयमा निर्माण सक्ने गरी काम भइरहेको छ ।”

मुख्य सडकबाट मोटरसाइकल, पेट्रोलियम पदार्थ तथा विस्फोटक पदार्थ बोकेका र गह्रौँ तौल हुने सवारी साधनबाहेक अन्यलाई गुड्न दिइनेछ । दोस्रो सुरुङबाट मुख्य सडकमा सवारीसाधन बिग्रेमा वा कुनै समस्या आएमा आपत्कालीन उद्धारका लागि खटिनुपर्ने सवारीसाधनलाई मात्रै प्रवेश दिइने भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार मुख्य र सहायक सुरुङ मार्गलाई जोड्न सातवटा पहुँच मार्ग बनाइनेछ । जुन मार्गबाट आवश्यकताअनुसार दुवै सुरुङ मार्गका विशेष अवस्थाका सवारी साधनलाई आवातजावात गर्न दिइनेछ ।

सुरुङ खनिसकेपछि त्यहाँ ३० सेन्टिमिटर बाक्लो ढलान गरिनेछ । तुलनात्मक रूपमा अन्य सडकमा गरिने कालोपत्रेभन्दा यो निकै नै बाक्लो भएको भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “अन्य सडकजस्तो सुरुङ मार्ग बारम्बार बनाइरहन सकिँदैन । त्यसैले बीचमा कुनै समस्या नआओस् भनेर यहाँ बाक्लो गरी ढलान गर्न लागिएको हो । ढलान गर्ने यन्त्रले एक पटकमा तीन सय मिटर कालोपत्रे गर्न सकिन्छ ।”

सुरुङ मार्गसँगै गुर्जुधारासम्म जोड्ने पहुँच सडकखण्डको निर्माण पनि दु्रत गतिमा भइरहेको छ । उक्त खण्डमा सडक खन्ने, कल्भर्ट निर्माण तथा दायाँबायाँ नाली खन्ने काम पनि एकसाथ भइरहेको छ । आइतबार चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीलगायतका स्थानीय जनप्रतिनिधिले सुरुङ मार्गको निर्माण प्रगतिको अवस्थाबारे जानकारी लिनुभएको छ । सुरुङ मार्ग निर्माणका क्रममा नागढुङ्गा खण्डमा कुनै पनि समस्या आउन नदिने गिरीले प्रतिबद्धता जनाउनुभयो । गिरीका अनुसार सुरुङ मार्गदेखि गुर्जुधारासम्म निर्माण भइरहेको पहुँच मार्ग र त्यहाँ निर्माण हुन लागेको फ्लाइओभरले ओगट्ने जग्गाको मुआब्जा वितरणको काम पनि अन्तिम चरणमा पुगेको छ ।

गुठीको जग्गा तथा कागजपत्र नमिलेर मुआब्जा वितरण रोकिएका ठाउँमा पनि नगरपालिकाले सहजीकरण गरेर समस्या समाधान गरिरहेको जानकारी गिरीले दिनुभयो । जापान सहयोग नियोग (जाइका) र नेपाल सरकारको संयुक्त लगानीमा सुरुङ मार्ग निर्माण भइरहेको छ । सुरुङ मार्गको काम २६ महिनाअघि सुरु भएको हो । ४२ महिनाभित्र काम सक्ने भनिएकोमा गत वर्ष कोरोना सङ्क्रमण रोक्न सरकारले जारी गरेको लकडाउनका कारण तीन महिना काम रोकिएको थियो । सोहीअनुसार आयोजना निर्माणका लागि सरकारबाट ८६ दिन म्याद थप भएको सहसंयोजक भट्टले जानकारी दिनुभयो । सूर्यप्रसाद पाण्डे https://gorkhapatraonline.com/

Advertisment