चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले दिगो फोहर व्यवस्थापन महानगरपालिको पहिलो प्रथामिकता रहेको बताउनुभएको छ । विश्व वातावरण दिवस–२०२२ को अवसरमा बिहीबार भरतपुर महानगरपालिकाले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रमलाई समापन गर्दै प्रमुख दाहालले सो कुरा बताउनु भएको हो ।
महानगरले विकास र पूर्वाधारको हिसाबले फड्को मारिसकेकाले अबको प्रथामिकता हरियाली प्रर्वद्धन गर्ने, सौन्दर्यकरण गरी महानगरलाई सुन्दर महानगर बनाउने अभियानका साथ अगाडि बढेको प्रमुख दाहालले बताउनुभयो ।
‘भरतपुरलाई सफा र सुन्दर बनाउने सबैको सझा संकल्प हो’ उहाँले भन्नुभयो,‘पहिलाको निरन्तरताले मात्रै पुग्दैन, यो कार्यलाई तीब्र गतिमा अगाडि बढाउनुपर्छ । महानगरपालिकाबाट मात्रै सुन्दर शहर निर्माण असम्भव छ ।’
अन्तर्राष्ट्रिय स्तरको फोहर व्यवस्थापनका लागि महानगरपालिकाले केही कामहरु अगाडि बढाई सकेको पनि प्रमुख दाहालले उल्लेख गर्नुभयो । अगामी नगरसभामार्फत सरसफाईको क्षेत्रको लागि राम्रा नीति, बजेट र कार्यक्रम ल्याउने पनि उहाँको भनाई छ । महानगरपालिकालाई सौन्दर्यकरण, हरियाली तथा सुन्दर र
स्वच्छ शहर निर्माण गरी अन्य शहरले पनि अनुशरण गर्न योग्य बनाउन सबैले आफ्नो ठाँउबाट सहयोग गर्नु पर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा बोल्दै महानगर उपप्रमुख चित्रसेन अधिकारीले भरतपुरका टोल विकास संस्थामार्फत महानगरको सरसफाईमा अघि बढ्ने बताउनुभयो । फोहरलाई व्यवस्थित गरी वातावरण संरक्षण गर्न सकेमात्रै मानव जीवन अगाडि बढ्न सक्ने भएकाले यसको महत्वलाई सबै जनाले बुझ्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।
वातावरण दिवसको अवसरमा भरतपुर महानगरपालिकाको सहकार्यमा यहाँका एक दर्जन बढी संघसंस्थाले वातावरण संरक्षणसम्बन्धी कार्यक्रम सञ्चालन गरेका थिए ।
दिवसको अवसरमा भरतपुर महानगरमा पर्ने राजमार्ग क्षेत्रको सरसफाई, विद्यालयमा निबन्ध प्रतियोगिता, विद्यालयमा पार्क निर्माण, पार्कहरु गोडमेल, वृक्षारोपण तथा राप्ती तटिय क्षेत्रमा सरसफाई तथा विभिन्न सरसफाईमूलक कार्यक्रम गरिएको भरतपुर महानगरपलिकाका वातावरण शाखा प्रमुख विराट घिमिरेले जानकारी दिनुभयो ।
त्यस्तै भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामबन्धु सुवेदीले दिगो विकासमैत्री र वातावरणमैत्री शहर निर्माण गर्ने भरतपुर नगरबासीको साझा संकल्प रहेको बताउनुभयो । फोहरको व्यवस्थापन गर्न यसको वर्गीकरण, विसर्जनलयातका विषयमा महानगर र महानगरबासीको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।
समापन समारोहमा भरतपुर महानगरपालिको सरफाई तथा वातावरण संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने संघसंस्था, अभियान्ता तथा कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।