छात्रामाथि दुर्व्यवहार गरेको भन्दै मकवानपुरको हेटौँडा क्याम्पसमा विद्यार्थीले तोडफोड गरे

मकवानपुर – छात्रामाथि दुर्व्यवहार गरेको भन्दै मकवानपुरको हेटौँडा क्याम्पसमा विद्यार्थीले तोडफोड गरेका छन् । हिजो मङ्गलवार स्नातक तहको दोस्रो वर्षको परीक्षा चलिरहेका बेला परीक्षामा गार्ड बसेकाले खानतलासीका नाममा छात्रालाई दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले क्याम्पसमा तोडफोड गरेका हुन् ।

बिहान केहीबेर तनाव भएपछि विद्यार्थी पक्ष र क्याम्पस प्रशासनबीच भएको वार्तामा विद्यालय प्रशासनले अबदेखि त्यस्ता कमजोरी हुन नदिने र दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएपछि अहिले अवस्था सामान्य भएको छ । आजको स्नातक तहको दोस्रो वर्षको परीक्षा पनि सञ्चालन भएको छ ।

हेटौँडा क्याम्पस केन्द्रमा परीक्षा दिन गएका मकवानपुर बहुमुखी क्याम्पसका दुई जना छात्राले हिजो परीक्षा गार्डले चिट लुकाएको भन्दै खानतलासी गरेर दुर्व्यवहार गरेको आरोप लगाएका छन् । तनावका कारण आज हेटौँडा क्याम्पस केन्द्रमा हुने कक्षा ११ को ग्रेडवृद्धि परीक्षा भने रोकिएको छ । भोलिदेखिका  परीक्षा भने पूर्वनिर्धारित तालिकाअनुसार नै हुने हेटौँडा क्याम्पसले जनाएको छ ।

Advertisment