मुक्तिनाथमा तीर्थालुको चहलपहल

जोमसोम ।
हिउँदको चीसोमा मुस्ताङको मुक्तिनाथ मन्दिर सुनसान हुन्छ । फागुन पहिलो हप्ता हुँदा चीसो घटेको छ । यसपालि मुस्ताङमा हिमपात भएन । तातो बढ्दै जाँदा मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको चहलपहल बढ्न थालेको छ ।

अनुकुल मौसम र सडक यातायात सहज भएकाले मुक्तिनाथमा यात्रु बढेका हुन् । तापक्रम वृद्धि भइसकेकाले मुक्तिनाथ मन्दिर पुग्न ज्येष्ठ नागरिकलाई पनि समस्या पर्दैन । यस वर्ष हिउँ नपरेकाले मुक्तिनाथ मन्दिर र आसपासमा सेताम्मे हिमाल भने देख्न पाइँदैन ।

मुक्तिनाथ विकास समितिका कर्मचारी रविन सुवेदीले फागुन लागेपछि नेपाली पर्यटक मुक्तिनाथ दर्शनका लागि आउने क्रम सुरु भएको जानकारी दिए । पुस र माघपछि नेपाली पर्यटकका साथै आशिंक रुपमा भारतीय पर्यटक पनि मुक्तिनाथ दर्शन गर्न आउन थालेको उनले उल्लेख गरे ।

फागुनदेखि दैनिक करिब ७ सय दर्शनार्थी आउने गरेकोमा शिवरात्री पर्वको अघिपछि गरी दैनिक २ हजारभन्दा बढीले मुुक्तिनाथ दर्शन गरेका छन् । मुस्ताङमा सवारी आवागमन बढेको प्रहरी चौकी घाँसाले जनाएको छ । चौकीका इन्चार्ज भोजराज गुरुङले दैनिक १ सयभन्दा बढी बस, जीप र मोटरसाइकल मुस्ताङ भित्रिएको जनाए ।

जोमसोम स्थित होटल ताजकी सञ्चालक तृष्णा गौचनले चिसोले सुनसान बनेको मुस्ताङको पर्यटन फागुनपछि चलायमान हुँन थालेको जनाइन् । ‘फागुन महिना सुरु भएसँगै विस्तारै पर्यटक आउन थालेका छन्, हिउँदको पुस र माघ महिना पर्यटक नआउँदा व्यापार ठप्पै थियो,’ गौचनले भनिन्,‘ सरकारी बिदा पनि परेको र मौसम पनि अनुकूल भएकाले पर्यटक बढ्छन् भन्ने विश्वास लिएका छौं ।’

गत वर्षको हिमपातमा परेको हिउँ वैशाख बाँकी थियो । यो वर्ष हिमपात नभएकाले मुक्तिनाथ दर्शनका लागि आउने पर्यटक उत्तरी कोरलानाका र लोमान्थाङसम्म सहजै जान आउन सक्छन् । केही दिनअघि जोमसोम–कोरला सडक अन्तर्गत समरको भीरमा चिसोले बरफ बनेको सडक लोघेकर दामोदरकुण्ड गाउँपालिकाले डोजर लगाएर सफा गरेको थियो ।

मंसिर १५ देखि पोखरा–जोमसोम हवाई सेवा ठप्प छ । पर्यटक आवागमन नहुने भएकाले निजी एअरलाइन्स कम्पनीले सेवा बन्द गरेका हुन् । मुस्ताङमा तारा एअरलायन्स र समिट एअरले उडान भर्ने गरेका छन् । Source: https://www.samadhannews.com/

Advertisment