१५ वर्षपछि सल्यानको ढोरचौर–सल्लीबजार सडक स्तरोन्नति

सल्यान । सल्यानको सिद्ध कुमाख ३ हुँदै प्रदेश राजधानी सुर्खेत जोड्ने ढोरचौर– छापडाँडा–डाँडाकटेरी– मैदुपोखरी– सल्लीबजार सडकको स्तरोन्नतिको काम सुरु भएको छ । ट्याक खोलेको झन्डै १५ वर्षपछि स्तरोन्नतिको काम सुरु भएको हो ।

कर्णाली प्रदेश सरकारको बहुवर्षीय योजना अन्तर्गत पूर्वाधार विकास कार्यालय सल्यानले १५ करोड ५९ लाखको लागतमा स्तरोन्नतिको काम सुरु गरेको हो । २०६४ सालमा शान्ति तथा पुनर्निर्माण मन्त्रालय मार्फत ट्याक खोलिएको थियो । २०८१ पुस १३ गतेसम्म निर्माण सम्पन्न गर्ने गरी खरीढुंगा हमाल जे.भी ले सडक स्तरोन्नतिको जिम्मा लिएको छ ।

पूर्वाधार विकास कार्यालय सल्यानका प्रमुख रूपक रावलले १३ दशमलव ८ किलोमिटर ग्राभेल र १२ किलोमिटर डबल कटिङ गरी सडकको स्तरोन्नति गरिने जानकारी दिनुभयो । उहाँका अनुसार यो योजना प्रदेश सरकारको बहुवर्षीय योजना अन्तर्गत यस सडकलाई प्राथमिकतामा राखेर काम अघि बढाइने छ  ।

सडकको शिलान्यास गर्दै कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भीम प्रकाश शर्माले विकास र उत्पादनलाई साथसाथै जोडेर लग्न सके उक्त विकास दिगो हुने बताउनुभयो । उहाँले भन्नुभयो सडक खन्नु मात्र विकास नभई किसानहरूले उत्पादनमा वृद्धि गर्नु र उक्त उत्पादन सहज रूपमा बजारीकरण गर्नु सबैभन्दा ठुलो विकास हुने भएकाले विकासलाई  जनताको आर्थिक उपार्जनमा वृद्धि भयो भएन त्यसलाई मापन गर्न जरुरी छ ।’

सिद्धकुमाख गाउँपालिका अध्यक्ष भरत गिरीले  सडक निर्माण भए  सल्यानको उत्तरी भेग र रुकुम पश्चिम क्षेत्रका जनतालाई प्रदेश राजधानी जोड्न छोटो दूरीको सडक भएकाले निर्माण कम्पनीले परिमाणात्मक र गुणात्मक दुवै काम प्रभावकारी रूपमा अघि बढाउनु पर्ने बताउनु भयो । Source: https://gorkhapatraonline.com/

Advertisment