सिसाका बोत्तल हटाउँदै चिमाङबासी

जोमसोम ।मुस्ताङको घरपझोङ गाउँपालिका १ चिमाङका महिला पेय पदार्थ आउने सिसाका बोतल नष्ट गर्न जुटेका छन् । गाउँलाई प्रदूषण र फोहोर मुक्त बनाउन उनीहरुले डोकामै सिसाका बोतल संकलन गरेका छन् ।

त्यसरी संकलन गरिएका बोत्तल ट्र्याक्टरमा लोड गरी गाउँभन्दा तल निश्चित स्थानमा लगेर खाल्डो खनी पुरिएको छ । समुद्री सतहदेखि करिब ३ हजार मिटरमा रहेको चिमाङ गाउँलाई स्वच्छ र सफा राख्न वडाको समन्वयमा बोत्तल व्यवस्थापन गरिएको हो । चिमाङका महिलाले आइतबार श्रमदान गरी बोत्तल व्यवस्थापन गरेको वडा सदस्य चक्रसिंह थकालीले बताए ।

चिमाङ र छैरो गाउँलाई सिसा मुक्त बनाउन गाउँपालिकाले चालु वर्ष ५० हजार विनियोजन गरेको छ । सोही बजेटबाट चिमाङले सिसाका बोतल नष्ट गर्ने अभियान सुरु गरेको वडा सदस्य थकालीले उल्लेख गरे ।

‘यो सिसाको बोत्तल नष्ट गर्ने अभियान पालिका स्तरको भए पनि चिमाङबाट सुरु भएको हो, यसपछि छैरो गाउँले पनि गर्छ,’ वडा सदस्य थकालीले भने, ‘गाउँपालिकाले सिसाका बोत्तल नष्ट गर्न सबै वडालाई ५०/५० हजार रुपैयाँ पठाएको छ । अब बिस्तारै अरु वडामा पनि सिसा नष्ट गर्ने कार्यक्रम सुरु होला ।’

चिमाङ गाउँ राष्ट्रिय राजमार्गदेखि कालिगण्डकी पारी पूर्वको भिरालो सतहमा छ । त्यहाँ ३५ घरधुरी बस्छन् । गाउँमा ग्रामीण होमस्टे र केही होटल छन् । चिमाङ गाउँ पर्यटकका लागि वैकल्पिक पदमार्गमा पर्छ । पदमार्ग गर्न चाहने विदेशी पर्यटक चिमाङ हुँदै तल झर्छन् ।

मुस्ताङको घरपझोङले ५ वटै वडामा बियरका बोतल नष्ट गर्ने अभियान सुरु गरेको हो । गाउँपालिकाले वैशाखदेखि पालिकाभित्र सिसाका बोतल प्रयोग गरिएको सामग्री बिक्री बितरण गर्न नपाईने नीति लिएको अध्यक्ष मोहनसिंह लालचन बताउँछन् ।

‘धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङको मुख्य पालिका घरपझोङ हो,’ अध्यक्ष लालचनले भने, ‘अब सदरमुकामसहित पालिकालाई फोहोर र प्रदूषणमुक्त बनाउने अभियानमा छौं । यो अभियानमा पर्यटन व्यवसायीको साथ र सहयोग मिल्ने अपेक्षा हाम्रो छ ।’

उनले बैशाखदेखि सिसाको बोत्तल राख्न र बिक्री गर्न प्रतिबन्ध लगाउने निर्णय केही महिना अघि नै गरिसकेको सुनाए ।

मुस्ताङमा केही वर्षअघि सिसाका खाली बोतल सहजै बिक्री हुन्थे । स्थानीय स्तरका फलफूल डिस्टिलरीहरुले व्यवसायीको घरबाटै बियरका खाली बोतल किनेर लैजान्थे ।

तर, अहिले यहाँका डिस्टिलरीले बियरका खाली बोतल किन्न छाडेका छन् भने पोखराबाट आउने कवाडीवालाले पनि सिसाका खाली बोतल लैजान मानेका छैनन् । अनधिकृत फालिएका सिसाका बोत्तलले दुर्घटना निम्त्याउन सक्ने जोखिम हटाउन पालिकाले यो कदम चालेको जनाएको छ । Source: https://www.samadhannews.com/

Advertisment