मध्यपहाडी लोकमार्ग: हिउँदमा धुलो र बर्खामा हिलो

ढोरपाटन ।
राष्ट्रिय गौरवको आयोजना मध्य पहाडी लोकमार्गअन्तर्गत बागलुङको अक्षते–घोडाबाँधे सडकको ट्रायक खुलेको साढे २ दशक बितिसक्यो । यतिका समयसम्म पनि यस खण्डको अधिकांश सडक कालोपत्र भएको छैन ।

हिउँदमा धुलो र बर्खामा हिलोका कारण स्थानीय विस्थापित हुनुपरेको छ भने यात्रु आजित छन् । करिब २६ किलोमिटर लामो यस खण्डमा पछिल्लो समय उपल्लाचौर–अक्षते क्षेत्रमा भने धमाधम काम भइरहेको छ । माथिल्लो बिहुँ खण्डमा भने काम हुन सकेको छैन । लोकमार्ग कार्यालयले बागलुङ बजारदेखि घोडाबाँधेसम्मको सडक दुई खण्डमा विभाजन गरी ठेक्का दिएको छ ।

२ खण्डमा कालोपत्रका लागि २०७२/७३ मा सम्झौता भएको थियो । हालसम्म १२ किलोमिटर सडक कालोपत्र भए पनि अझै १३ किलोमिटर सडक बाँकी नै छ । बिहुँ र अक्षते खण्डको काम गर्ने असारसम्म छ ।

बिहुँमा सुस्त गतिमा काम हुँदा समयमै सकिने अवस्था छैन । बागलुङदेखि खहरेसम्म केही समय अघि सडक कालोपत्र गरिएको थियो भने हाल खहरेदेखि अक्षतेसम्म काम भइरहेको छ । उक्त खण्डमा चौडा गर्ने, नाली व्यवस्थापन र अलकत्रा बिछ्याउने काम भइरहेको छ ।

‘हिउँदमा धुलो र बर्खामा हिलो घरभित्र पस्छ’, बागलुङ नगरपालिका ३ खहरेका जंगबहादुर कार्कीले भने, ‘सडकमा पानी हाल्दा हाल्दै अधिक समय बित्छ ।’ माथिल्लो खण्डमा कामलाई तीव्रता दिन स्थानीयले माग गरेका छन् । सडक कालोपत्रका लागि निर्माण कम्पनीसँग सम्झौता भएको एक दशक बित्नै लाग्यो । पटक पटक म्याद थप गर्ने गरिएको छ । निर्माण कम्पनीको ढिलासुस्तीले काम सम्पन्न हुन नसकेको स्थानीय वीरबहादुर विकले बताए ।

‘सडक छेउछाउ घर बनाउने क्रम बढे पनि धुलो र हिलोले सास्ती भएको छ’, उनले भने । लोकमार्गको १ हजार ७ सय ७६ किलोमिटर क्षेत्रमध्ये बागलुङ खण्ड १ सय ४२ किलोमिटर लामो छ । निसीखोला क्षेत्रमा २ वर्षअघि सडक कालोपत्र भइसकेको छ ।

घोडाबाँधेदेखि गलकोट हटियासम्मको सडक एक दशकअघि नै कालोपत्र गरिएको थियो । उक्त खण्डको हाल मर्मतसम्भार हुँदै छ । असार मसान्तसम्म सबै काम सम्पन्न हुने लोकमार्ग आयोजना कार्यालय, पर्वतका सूचना अधिकारी मिलन श्रेष्ठले बताए ।

‘काम नसकिए ठेक्का रद्द हुन्छ’, उनले भने ।

Advertisment