रुपा गाउँपालिकाको हंसपुरमा मदिरामा कडाइ

पोखरा । रुपा गाउँपालिकाको वडा नं. ७ हंसपुरका बासिन्दा यतिखेर मदिरारहित समाज निर्माण अभियानमा जुटेका छन् । मदिरा तथा लागुऔषध सेवनकर्ता बढेका कारण समाजमा विकृति बढ्ने भन्दै सभ्य समाज निर्माणका लागि टोलवासीले शनिबारदेखि मदिरा निषेधित अभियान चलाएका हुन् ।

स्थानीय बिभिन्न संघ। संस्था, समाजसेवी, वुद्धिजिवीसहितले हंसपुर गाउँ क्षेत्रका प्रत्येक पसलमा पुगेर मदिरा व्यवस्थापन तथा लागुऔषध नियन्त्रणका विषयमा सचेतनामूलक कार्यक्रम गरिएको टोल सुधार समितिका अध्यक्ष डिलबहादुर नेपालीले जानकारी दिए । लागुऔषधको प्रयोग तथा बिक्री वितरणले मानिसको स्वास्थ्य बिग्रनुका साथै धन, सम्पत्तिको समेत क्षति हुने भएकाले यसको नियन्त्रणका लागि पहलकदमी थालिएको नेपाली बताउँछन् ।

महिला मिलन विकास समितिकी सदस्य ताराकुमारी सापकोटाले सभ्य र समृद्ध समाज निर्माणको अभियानमा सबैको साथ र सहयोग रहने विश्वास सुनाइन् । उक्त क्षेत्रका प्रत्येक घरबाट एक जनताको सहभागिता रहेको सचेतना अभियानका क्रममा मदिरा तथा लागुऔषध निषेधित सुचना टाँस गरिएको छ । सापकोटा भन्छिन्, ‘सूचनालाई वेवास्ता गरे गाउँपालिका र प्रहरीको सहयोगमा कडा कारवाही गरिनेछ ।’

गाउँपालिकाका अध्यक्ष नवराज ओझाले हंसपुरले सुरु गरेको अभियानमा सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । ग्रामीण क्षेत्रका प्रत्येक पसलमा मदिरा बिक्री वितरण हुने गरेको गुनासो आउन थालेपछि पालिकाकाले कार्यालय समयबाहेक र स्वीकृति लिएको पसलबाट मात्र मदिरा बिक्री वितरण गर्ने अभियान सञ्चालन चलाएको छ ।

Advertisment