बाँझो जग्गा किनेर अंगुर खेती

तनहुँ ।
तनहुँको घिरिङ गाउँपालिका ४ स्थित बाह्रबीसेमा सुरु गरिएको व्यावसायिक अंगुर खेतीले उत्पादन दिन सुरु गरेको छ ।

फार्ममा उत्पादन भएको अंगुर टिप्ने र बजार पठाउने काम धमाधम भइरहेको फार्म सञ्चालक कुमार कार्कीले जनाए ।

फार्ममा पहिलो वर्ष ९ हजार ५ सय बिरुवा रोपिएको थियो । जसबाट वार्षिक १० हजार केजी अंगुर उत्पादन गर्ने कम्पनीको लक्ष्य छ । वाइन उत्पादन गर्ने उद्देश्यसहित स्वीट्जरल्यान्डबाट विरुवा ल्याई व्यावसायिक अङ्गुर खेती सुरु गरिएको ‘भाइन यार्ड एण्ड रिसर्च सेन्टर’का सञ्चालकसमेत रहेका कार्कीले बताए ।

‘हामीले यहाँ पहिलो वर्ष लार्भाको समस्या भोगेका थियौं । यस वर्ष भने पूर्वतयारीका साथ खेती गरिरहेका छौँ, उत्पादन पनि राम्रो भइरहेको छ’, कार्की भने । कार्कीले धादिङको थाक्रे गाउँपालिका १० जुङे खोला केवलपुरमा पनि विगत १५ वर्षयता १ सय ५० रोपनीमा अंगुर खेती गर्दै आएका छ । वाइनका लागि थप अंगुर आवश्यक भएपछि तनहुँको बाह्रबीसेमा दुई वर्षयता ७० रोपनी बाँझो जमिनमा अङ्गुर खेती सुरु गरिएको उनको भनाइ छ ।

हाल विभिन्न ३२ प्रजातिका अङ्गुर खेती गरिए पनि केही प्रजातिका अंगुरले मात्रै राम्रो उत्पादन दिइरहेका छन् ।

‘स्वीट्जरल्यान्डबाट ७ सयदेखि १ हजारसम्म खर्चेर ३२ प्रजातिका विरुवा ल्याएका थियौँ, यद्यपि हाल ८ देखि १० प्रजातिका अंगुरले मात्रै राम्रो उत्पादन दिएका छन्’, उनी भन्छन् । बिरुवा लगाएको पहिलो वर्षमा नै अंगुरले फल दिन सुरु गरेको उनको भनाइ छ । धादिङको फार्ममा ३८ करोड ५० लाख र तनहुँमा १ करोड ५० लाख गरी ४० करोड लगानी भइसकेको छ ।

‘हामीसँग हाल वार्षिक ३ लाख लिटर वाइन उत्पादन क्षमता छ, यसले पनि अंगुर खेतीलाई प्रोत्साहन गरेको छ’, उनले भने, ‘वाइनको माग राम्रो भएकाले अंगुर उत्पादनपछि खपतको चिन्ता छैन ।’ कम्पनीले ७५० एमएलको बोतल ३ प्रकारका वाइन उत्पादन गरिरहेको छ । जसलाई बजारमा प्रतिबोतल १ हजार २ सयमा बिक्री गर्ने गरिएको छ ।

कार्कीको फार्ममा हारियोमा सुजी, कायाबिनेट क्यान्टर, मनाज, सोबिनियन ग्रीस, तथा खानका लागि फन्नी, सोफिया, आरकडिया, पोलिस्की, दुचबा, चालिचमान लगायतका जातिका अंगुर उत्पादन हुन्छ ।

‘विरुवा रोपेको एक वर्षमै फल दिन सुरु भइसकेको छ, पहिलो वर्ष प्रतिबोट ३ देखि ४ केजीसम्म अंगुर उत्पादन हुने अनुमान छ’, फार्ममा कार्यरत प्राविधिक सान्नानी तामाङले भने, ‘बोटमा चैत/वैशाखमा फूल फुल्छ भने त्यसपछि ३ महिनामा फल टिप्ने खालको हुन्छ ।’

फागुनदेखि फूल खेल्ने र असारको पहिलो सातासम्म फल टिप्न सकिने तामाङको भनाइ छ । फार्ममा दैनिक ज्यालादारीमा मासिक १२ देखि १५ जनाले स्थानीयले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । विशेष गरी फार्ममा घाँस कटाई, बिरुवा गोडमेल, मल तथा अन्य व्यवस्थापकीय कामबाट स्थानीय रोजगारी पाएको र राम्रो आम्दानीको स्रोत समेत बनेको तामाङको भनाइ छ ।

नेपालमा अंगुर खेती सफल हुँदैन भन्ने भ्रमलाई चिर्न आफूहरू सफल भएको सञ्चालक कार्कीको भनाइ छ । प्राविधिकको अध्ययनपश्चात नै यहाँ अंगुर खेती सुरु गरिएको उनले दाबी गरे ।

धादिङमा भएको फार्मका लागि बागमती प्रदेश बिग फार्म शीर्षक अन्तर्गत १२ वटा फार्ममा पर्न सफल भइ ५५ लाख अनुदानसमेत प्राप्त भइसकेको कार्कीले सुनाए । घिरिङको माटोमा अंगुर उत्पादन राम्रो हुने भएपछि यहाँका किसानलाई पनि खेतीतर्फ प्रोत्साहन गर्न पालिकासँग समन्वय भइरहेको कृषि शाखा अधिकृत रवि रामदाम बताउँछन् ।

Advertisment