बराईबासीको घर-घरमा धाराकाे पानी

हुम्ला  । सर्केगार्ड गाउँपालिका– ६ को बराई गाउँका स्थानीयको घर-घरमा खानेपानीका धारा जडान गर्ने वर्षौदेखिको सपना पुरा भएको छ । सो गाउँका लागि पागरपानी  खानेपानी योजना निर्माण भएर सञ्चालनमा आउदा स्थानीयको सपना पुरा भएको हो ।

बराई गाउँका स्थानीय धनलाल टमटाले वर्षौदेखि घर-घरमा धारा जडान गरेर खानेपानी प्रयोग गर्ने बराईवासीको सपना अहिले आएर पुरा भएको बताउनुभयो । यसअघि सो गाउँका स्थानीय बासिन्दाहरु गाउँ नजिकैको मुलको पानी प्रयोग गर्दै आउनु भएको थियो । सिङ्गो गाउँका लागि एउटा मुलको पानी प्रयोग गर्नु पर्ने भएपछि बराईबासीले लाईनमा बसेर पानी प्रयोग गर्नु पर्ने हुन्थ्यो । अझ चैत वैशाख महिनामा मुलको पानी सुक्ने भएको कारण पानीको झनै सास्ती खेप्नु पथ्र्यो । आफ्नो घर खानेपानीको व्यक्तिगत धारा जडान गर्नु भएका टमटाले खानेपानीको दिर्घकालीन समस्या समाधान भएको बताउनुभयो । उहाँले मात्र होईन सिङ्गै गाउँबासीले घर-घरमा धारा जडान गर्न सफल हुनु भएको हो । पहिलो पटक यसरी घर-घरमा धारा जडान गर्न पाएपछि स्थानीयहरू निकै खुसी हुनु भएको छ ।

खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालयका प्रमुख अकल महतले दुई आर्थिक वर्षमा उक्त खानेपानी आयोजना सम्पन्न भएर सञ्चालनमा आएको बताउनुभयो । उहाँले बराई गाउँका ११३ घरधुरीलाई घरघरमा धारा जडान गरी खानेपानीको समस्या समाधान गरिएको बताउनुभयो । खानेपानीको धारा निर्माण र जडान समेत कार्यालयले निशुल्क दिएको हो । आर्थिक वर्ष ०७८।०७९ मा स्थानीय उपभोक्ता मार्फत सो खानेपानी आयोजनाका काम सुरु भएर आर्थिक वर्ष ०७९।०८०मा सम्पन्न भएर सञ्चालनमा आएको हो । यसका लागि कार्यालयले इन्टेक निर्माण, दश र बीस घनमिटर क्षमताका दुई वटा आरबिटी चार किलो मिटर टाढाको मुहानबाट पाईपलाई खनेर पानीको व्यवस्था गरिएको छ । उहाँले आयोजना सम्पन्न गर्न दुई आर्थिक वर्षमा एक करोड साठी लाख बजेट विनीयोजित गरिएकोमा एक करोड पचास लाखमा सम्पन्न भएको बताउनुभयो ।  Source; राजन रावत https://gorkhapatraonline.com/

Advertisment