पहिलो पटक धाराबाट खानेपानी

डाँडाझेरी (नवलपरासी)

 जन्मेदेखि नै कुवाको पानी खान बाध्य बुलिङटार–२ डाँडाझेरी द्यौबादीका नरवीर मश्राङ्गी मगर घरमै खानेपानी धारा पुगेपछि दङ्ग हुनुहुन्छ। पहिलो पटक धाराको खानेपानी खान पाएकोमा उहाँ खुसी हुनुभएको हो ।

पूर्वी नवलपरासीको बुलिङटार डाँडाझेरी द्यौबादीका सात टोलमा तत्कालीन सरकारको पाँच करोड ३६ लाख रुपियाँ लागतमा खानेपानी आयोजना सम्पन्न भएको वडाध्यक्ष कमल बकावल मगरले बताउनुभयो ।

बुलिङटार गाउँपालिकाका–२ का वडाध्यक्ष  बकावल मगरले हालै निर्माण सम्पन्न भएको डाँडाझेरी खानेपानी आयोजनाबाट ६११ घर धुरीका झन्डै चार हजार तीन सय स्थानीय प्रत्यक्ष खानेपानीबाट लाभान्वित भएको बताउनुभयो ।

उपभोक्ता समितिका अध्यक्ष नरवीर मश्राङ्गी मगरले जीवनभरि सधैँ कुवाको खानेपानी खाएका स्थानीयले घरमै धाराबाट खानेपानी आएपछि खुसी छाएको बताउनुभयो । आयोजना निर्माण सम्पन्न भएपछि यहाँका बासिन्दाले खेर गइरहेको पानीबाट तरकारी, खाद्यान्न, कागती उत्पादन गरी बिक्री समेत गर्ने गरेको गाउँपालिकाका अध्यक्ष दीपेन्द्र सुनारी मगरले बताउनुभयो ।

जिल्लाको पहाडी दुई गाउँपालिकामा अझै चार हजार बासिन्दा प्रत्यक्ष खानेपानी सुुविधाबट वञ्चित छन् । स्थानीय गुन्जबहादुर आलेले जिल्लाको काफलडाँडा, मथार, पिपलछाप, रुचाङ टोललगायतका ठाउँमा खानेपानी व्यवस्थित बन्न नसकेको बताउनुभयो । सङ्घीय सरकारको पूर्ण सहयोगमा खानेपानी आयोजना सम्पन्न भएको वडाध्यक्ष बकावल मगरले जानकारी दिनुभयो ।

 

Advertisment