सिक्लेसमा पर्यटकको ताँती

गण्डकी ।
मंसिरको १५ गते शुक्रबार पोखरा महानगरपालिका ३३ भरतपोखरीको बर माझथरका ७ युवा कास्कीकै मादी गाउँपालिका १ स्थित सिक्लेस भ्रमणका लागि निस्किए । पछिल्लो समयमा बढ्दो पर्यटकको आगमनले चासो र चर्चा कमाएको सिक्लेस सञ्चारमाध्यममा सुनेका उनीहरुको उद्देश्य सिक्लेसमै पुगी त्यहाँको वातावरण प्रत्यक्ष अवलोकन गर्नु थियो ।

मोटरसाइकलमार्फत यात्राको तय गरेका उनीहरुलाई घरबाट निस्कँदा कतै भीडभाडका कारण बस्ने ठाउँ नै पाइँदैन कि भन्ने चिन्ता पनि थियोे । त्यसै चिन्ताले यात्राकै क्रममा त्यहाँका होमस्टे सञ्चालकलाई फोन गरी आफूहरू आउन लागेको जानकारी गराएको भ्रमण टोलीका सदस्य कमलप्रसाद पौडेलले सुनाए । ‘बाटोबाटै फोन गरिएका कारण हामीलाई त्यहाँ पुुगेर बस्न र खान धेरै सजिलो भयो’, उनले भने, ‘त्यो दिन सिक्लेस पुुग्नेको ठूलै उपस्थिति थियो, स्थानीयवासीलाई व्यवस्थापन गर्न हम्मेहम्मे देखिन्थ्यो ।’

सिक्लेस जाने बाटो ठाउँ ठाउँमा निर्माणकै क्रममा रहेका कारण दुुईपाङ्ग्रे सवारीसाधनमार्फत जाँदा होसियारीपूर्वक जानुुपर्ने उनको सुुझाव छ । पौडेलले भनेजस्तै बढ्दो पर्यटक आगमनले यहाँका पर्यटन व्यवसायीलाई व्यवस्थापन कसरी गर्ने भन्ने सकस परकेो छ । कोरोनाको महामारीले लामो समय सुनसान बनेको सिक्लेसमा देशका विभिन्न भागबाट पर्यटक आउन थालेका छन् ।
सिक्लेसमा गाउँमाथिका पदमार्ग क्षेत्रका समेत गरी ४१ होटेल सञ्चालनमा आइसकेको मादी गाउँपालिका १ का वडाध्यक्ष देवीजंग गुरुङले जानकारी दिए । होटेलका साथै यहाँका झण्डै २ दर्जन होमस्टेले पर्यटकलाई खाने बस्ने सुविधा दिइरहेका छन् ।

आफ्नो मौलिक कला, संस्कृति तथा मनोरम प्रकृतिका कारण सिक्लेसले स्वदेशी एवं विदेशी पर्यटकलाई लोभ्याउने गरेको छ ।
सिक्लेस समुद्री सतहबाट २ हजार मिटरमा छ । वरिपरि वन रहेको यो गाउँमा चरा र वन्यजन्तुप्रेमी पनि रमाउने गरेका छन् । यहाँबाट नजिकै देखिने लमजुङ हिमाल र अन्नपूर्ण दोस्रो हिमालले जोकोहीलाई लोभ्याउने गरेको छ । पछिल्लो समयमा पर्यटकको आगमनले यहाँको पयर्उटन राम्रै प्रवद्र्धन भएको उल्लेख गर्दै वडाध्यक्ष गुरुङ आगामी दिनमा यसको व्यवस्थापन कसरी गर्ने भन्ने विषयबारे सचेत रहेको सुनाए ।

‘पर्यटकको आगमनलाई लक्ष्य गरी यहाँको प्रकृति, संस्कृति र मौलिकता समेतको संरक्षण गर्दै उचित व्यवस्थापन गर्नुु जरुरी छ’, उनी भन्छन्, ‘यहाँको सरसफाइ, प्राकृतिक एव) सांस्कृतिक मौलिकता जोगाउन आजैदेखि लाग्नुु अपरिहार्य देखिएको छ ।’
चार सय घरधुरी रहेको सिक्लेस नेपालकै ठूलो गुरुङ गाउँ हो । सिक्लेस ढुंगाले छाएको तथा ढुंगा छापिएको गुजुमुच्च तर अत्यन्त सफा र सुन्दर बस्ती हो । यो गाउँ अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गतको घलेखर्क सिक्लेस ईको ट्रेकभित्र पर्दछ । यहाँ गरिने मेला तथा महोत्सवमा लोपोन्मुख अवस्थामा रहेका लगभग चार दशकअघिसम्म प्रचलित खेल झिझिलि, हेकुचे, घुर्राजस्ता प्रतियोगितासमेत गराउने गरिएको छ ।

कटुवाल घोकाउने प्रथा पनि सिक्लेसमा कायमै छ । परम्परागत हस्तकला व्यवसाय, राडिपाखी, थैलो, भाङ्ग्रा (रेँका), बख्खु र मान्द्रो, भकारी, डोकोडालो, नाम्लो र गुन्द्री उत्पादन आदिले पनि यहाँको मौलिकता बचाएको छ ।

गुरुङ जातिको कला तथा संस्कृतिको जीवन्त सङ्ग्रहालय जस्तै बनेको यो गाउँबाट गुरुङ जातिको अन्तिम राज्य क्होलासोंथर पनि १ दिनमा पुग्न सकिन्छ । गुरुङ जातिको अध्ययन अनुसन्धानका लागि पनि स्वदेशी एवं विदेशीसमेत सिक्लेस जाने गरेका छन् । त्यहाँ रहेको सिक्लेस ईको म्युजियम पनि दर्शनीयस्थलका रुपमा विकास भएको इको म्युजियम व्यवस्थापन समितिका अध्यक्ष हुमकुमारी गुरुङले बताइन् ।

संग्रहालय व्यवस्थापनका लागि विदेशी पर्यटकसँग १ सय ५०, अन्य सर्वसाधारणसँग १ सय र विद्यार्थीसँग ३० रुपैयाँ प्रवेश शुल्क लिने गरिएको छ । सिक्लेसबाट कफुचे हिमतालका साथै कोरीसम्म पदयात्राका लागि जाने पर्यटक पनि बढ्दै गएका छन् । सिक्लेसबाट कफुचे, कोरीसम्मको पदयात्रा मार्गलाई केटुु पदमार्गका रुपमा विकास गर्ने सोच वडाले लिएको छ ।

सिक्लेसबाट पहिलो दिन कफुचे हिमताल पुुगेका पर्यटक दोस्रो दिन कोरी र तेस्रो दिन पुनः सिक्लेस फर्कन सक्ने अध्यक्ष गुरुङले बताए । ‘सिक्लेसबाट तारहिलटप हुँदै तिइँ, कफुचेसम्मको नयाँ पदमार्ग समेत विकास गर्ने हाम्रो सोच छ’, उनी भन्छन्, ‘पदयात्राका क्रममा उक्त मार्गबाट देखिने धवलागिरिदेखि मनास्लु हिमशृङ्खलासम्मका दृश्यलाई एकसाथ अवलोकन गर्न पाउनु यहाँको विशिष्टता हो ।’

गुराँसै गुराँसले भरिएका यस पदमार्ग गुराँस फुल्ने समयमा अझै मनमोहक देखिने अध्यक्ष गुरुङले बताए । पोखराबाट ४० किलोमिटर उत्तरमा रहेको सिक्लेस जान काहुँ खोलामा जिप सहज रुपमा नै उपलब्ध हुन्छन् । नेपालको १२ वर्षे द्वन्द्व अन्त्यका लागि तत्कालीन सशस्त्र आन्दोलनरत नेकपा (माओवादी)का नेता पुष्पकमल दाहाल पहिलो पटक यही सिक्लेसबाट सार्वजनिक भएका थिए । गाउँपालिकाले यही गाउँमा शान्ति स्मारकसमेत बनाएको छ ।

Advertisment