काठमाडौं ।लोकप्रिय सांगीतिक समूह कन्दराले ‘काठमाडौं कलिङ कन्दरा’ शीर्षकमा विशेष सांगीतिक प्रस्तुति गर्ने घोषणा गरेको छ।
उक्त कार्यक्रम कात्तिक २८ गते (शुक्रबार) ठमेलस्थित एक्सओ क्लबमा आयोजना हुनेछ। स्थापना ३२ वर्ष पूरा गरिसकेको कन्दरा लामो अन्तरालपछि काठमाडौंमा पुनः प्रस्तुति दिन लागिरहेको हो।

कार्यक्रमसम्बन्धी विवरण सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको थियो। विशिष्ट इन्टरनेसनलको आयोजनामा एक्सओ क्लब र हाई इन्टरटेनमेन्टको सहकार्यमा यो प्रस्तुति हुन लागेको हो।
पत्रकार सम्मेलनमा ब्यान्डका मुख्य भोकलिस्ट विवेक श्रेष्ठले यसपटकको कन्सर्ट ‘रिदम अफ चेन्ज’ भन्ने मूल अवधारणामा आधारित रहने जानकारी दिए। उनका अनुसार यो थिम सांस्कृतिक, आर्थिक र सामाजिक रूपान्तरणका सवालमा आधारित छ।

‘देश परिवर्तनको मोडमा छ। हामीले संगीतलाई केवल मनोरञ्जनको माध्यम मात्र होइन, सकारात्मक रूपान्तरणको सहयात्रीका रूपमा उपयोग गर्न खोजेका हौं,’ श्रेष्ठले भने। उनका अनुसार एक्सओ क्लबमा हुने प्रस्तुति ‘रिदम अफ चेन्ज’ श्रृंखलाको पहिलो कन्सर्ट हुनेछ।
श्रेष्ठले क्लबलाई स्थलका रूपमा छनोट गर्नुको कारणबारे थप्दै भने, ‘क्लब केवल नाच्ने-गाउने ठाउँ भनेर बुझिन्छ तर यो युवा पुस्तासँग प्रत्यक्ष भावनात्मक र ऊर्जाशील जोड हुने स्थान पनि हो। हामी उनीहरूसँग संवाद गर्दै अघि बढ्न चाहन्छौं।’
कन्दराले गत वर्ष पनि काठमाडौंमा ठमेलस्थित एलओडीमा कन्सर्ट गरेको थियो। ‘हामी परिवर्तनको आवाजलाई संगीतमार्फत प्रसारित गर्न चाहन्छौं,’ श्रेष्ठले भने, ‘ब्यान्डको पहिचान केवल स्टेजका अगाडिका कलाकारमा मात्र सीमित हुँदैन, पर्दा पछाडिबाट योगदान गर्नेहरू पनि उतिकै महत्वपूर्ण छन्।’
अबको १ महिना नेपाल र त्यसपछि विदेशका विभिन्न मुुलुकमा ‘रिदम अफ चेन्ज’ टूर हुने विवेकले बताए । उनका अनुसार ब्याण्डले अमेरिका, क्यानडा, युरोप र एसियाली मुलुकमा टूरको तयारी गरेको छ ।
एक्सओ क्लबमा हुने कन्सर्टमा ब्याण्डले आफ्ना हिट गीत गुञ्जाउनेछ । त्यससँगै बीचमा ‘रिदम अफ चेन्ज’ का सन्देश पनि सुनाइनेछ । ब्याण्डले यो कन्सर्टलाई युवापुस्तासँग जोडिने अवसरको रुपमा लिएको छ ।
पत्रकार सम्मेलनमा जेनजी आन्दोलनका शहिदको सम्झनामा मैनबत्ती बालेर मौन धारण गरियो । साथै, गायक श्रेष्ठले आगामी नयाँ सुमधुर गीतको टुक्का गाएर समारोहलाई मन्त्रमुग्ध तुल्याए ।
अबदेखि कन्दरा मनोरञ्जन मात्र नभएर, सामाजिक प्रभाव पार्ने मनोरञ्जनमा पनि सक्रिय हुने उनले बताए । ‘हामी अब सोसल इम्प्याक्ट इन्टरटेनमेन्ट गर्दैछौं’ उनले भने, ‘अब ब्याण्डलाई त्यसरी अघि बढाउने तयारीमा छौं ।’
सो अवसरमा एक्सओ क्लबका तर्फबाट नीरा जोशी, मन्छिन शाक्य, भ्वाइस अफ नेपाल रियालिटी शोका होस्ट सुशील नेपाल लगायतले ‘कन्दरा’को कन्सर्टबारे शुभकामना दिएका थिए ।
हिमाल, ताल र प्रकृतिको अनुपम सुन्दरताले भरिपूर्ण पोखरामा ३२ वर्षअघि जन्मिएको कन्दरा ब्याण्डले नेपाली सङ्गीतप्रति आफ्नो समर्पण, जोश र दृढता निरन्तर अघि बढाइरहेको छ । नेपाली लोकपप, साङ्गीतिक प्रयोग र आफ्नै मौलिक पहिचानका कारण चर्चित बन्न सफल कन्दराको कर्णप्रिय स्वरले देशमै मात्र होइन, विदेशमा रहेका नेपालीहरूलाई पनि आ–आफ्नो घर र माटो सम्झाइरहेको छ । चञ्चले कान्छी, हङकङ पोखरा, तगारोमा रुमाल राखी, भेडीगोठैमा, लेककी हे माया जस्ता यस ब्याण्डका कैयन गीतहरु स्रोताहरुले औधी रुचाएका छन् ।
ब्याण्डको लिड भोकलिस्टमा विवेक श्रेष्ठ, ड्रममा सुनिल थापा, मादलमा अविनाश गायक, बासिस्टमा पंकज झा, गितारमा सन्देश मुजो, किबोर्डमा नील घतानी, साउन्ड इन्जिनियरमा सिमोस तझ्या र प्राविधिक विज्ञमा नवीन थापा छन् ।
सो अवसरमा ब्यान्डले आफ्नो आगामी एल्बम ‘कविसँग कन्दरा’ तयारीको अन्तिम चरणमा रहेको र छिट्टै श्रोतालाई उपलब्ध गराइने बतायो।




