पुटिन र एर्डोगनबीच सिरियाबारे छलफल हुने

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका समकक्षी रिसेप तयप एर्डोगानबीच सिरियाका बारेमा छलफल हुने भएको छ ।

रुसको राजधानी मस्कोमा बुधबार यी दुई राष्ट्रपतिबीच हुने छलफललाई अर्थपूर्ण रूपमा हेरिएको छ । दुई देशले सिरियाली द्वन्द्वका बारेमा एकअर्कामा ठीक विपरीत धारणा राख्दै आएका छन् ।

सिरियामा रुसले सरकारलाई सघाइरहेको छ भने टर्कीले विद्रोही समूहका लडाकूहरूलाई राष्ट्रपति बशर अल असदका विरुद्धमा लड्नका लागि सहयोग गरिरहेको छ ।

परस्पर विपरीत पक्षमा उभिएका दुई देशका नेताहरुले अहिले सात वर्षदेखि सिरियामा जारी द्वन्द्वको राजनीतिक समाधानका लागि उपाय खोज्ने अपेक्षा गरिएको छ ।

उनीहरुले त्यसका लागि सँगै मिलेर काम गर्ने प्रयास पनि गर्ने बताइएको छ । यसअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सिरियाबाट दुई हजार अमेरिकी सेना फिर्ता गर्ने घोषणा गरेका थिए । ट्रम्पको सोही घोषणाका कारण रुस र टर्कीका राष्ट्रपतिबीच भेटवार्ता हुन लागेको बताइन्छ ।

टर्कीका राष्ट्रपति एर्डोगानले गत सोमबारको एउटा सम्बोधनमा टर्कीद्वारा नियन्त्रित उत्तरी सिरियाको “सुरक्षा क्षेत्र”का बारेमा रुसी राष्ट्रपति पुटिनसँग छलफल गर्न लागेको बताएका थिए ।

Advertisment