नेविसंघ विवाद समाधान गर्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा नेपाल विद्यार्थी सङ्घ केन्द्रीय कार्यसमिति, महासमिति बैठकले पारित गरेको पार्टीको विधान र समसामयिक राजनीति विषयमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

काङ्ग्रेसको भ्रातृ संस्था नेविसङ्घ केन्द्रीय कार्यसमितिको थपिएको पदावधि यही माघ २ गते समाप्त भइसकेको छ। काङ्ग्रेसमा नेविसङ्घको नयाँ तदर्थ केन्द्रीय समिति बनाउने वा वर्तमान कार्यसमितिलाई नै महाधिवेशन गर्न जिम्मेवारी दिने भन्ने बिबाद छ । गत मङ्सिर २८ देखि पुस ८ गतेसम्म भएको महासमिति बैठकले विधान संशोधनको प्रस्तावलाई महासमिति बैठकबाट प्राप्त सुझावलाई मध्यनजर राखी केन्द्रीय कार्यसमितिले परिमार्जन गर्ने गरी सर्वसम्मतिले पारित गरेको थियो ।

महासमितिमा केन्द्रीय सदस्य पार्टीका स्थानीय तहबाटै निर्वाचित भएर आउनुपर्ने र पार्टीमा आरक्षणको व्यवस्था एक व्यक्तिका लागि एक पटकमात्र हुने व्यवस्था विधानमा राख्न सुझाव आएको थियो। केन्द्रीय समिति बैठकको तयारी र नेविसङ्घबारे गत बुधबार सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीसँग छलफल गर्नुभएको थियो ।

Advertisment