थाई राजपरिवारको परम्परा तोड्दै राजकुमारी उबोलरत्न राजनीतिमा

थाइल्याण्डकी राजकुमारी उबोलरत्न राजकन्या सिरिवधन बर्नावदीले आगामी मार्च २४ मा हुने निर्वाचनमा प्रधानमन्त्री पदका लागि उम्मेद्वारी दिएकी छिन् ।

निकै ढिला गरी हुन लागेको आम निर्वाचनमा भूतपूर्व प्रधानमन्त्री थाक्सिन शिनावत्राको दल थाई रक्षा चार्टले राजकुमारी बर्नावदीलाई भावी प्रधानमन्त्रीको रूपमा सिफारिस गरेको हो । थाई इतिहासमा राजपरिवारको कुनै पनि सदस्य राजनीतिमा लागेर चुनावी मैदानमा होमिएको यो पहिलो घटना हो । ६७ वर्षीया बर्नावदी थाई राजा महा भाजिरालोङकोर्नकी दिदी हुन् ।

राजकुमारी बर्नावदीले सन् १९७२ मा अमेरिकी नागरिकसँग विवाह गरेपछि उनको शाही पद्वी खोसिएको थियो । १९९० को दशकमा पारपाचुके गरेर पुनः थाइल्याण्ड फर्किएकी राजकुमारीको पद्वी फिर्ता नभएपनि थाई जनताले उनलाई शाही सदस्यको हैसियतमा दिएको सम्मान कायमै छ ।

सँधै राजनीतिभन्दा माथि रहेका राजपरिवारबाट राजनीतिमा भएको संलग्नताले थाइल्याण्डमा एउटा तरङ्ग ल्याउने निश्चित् छ । बर्नावदीको निकटतम प्रतिस्पर्धीको रूपमा पलङ प्रचारत पार्टीको सिफारिसमा वर्तमान सैनिक सरकारका प्रमुख एवम् तत्कालीन सेना प्रमुख प्रयुथ चान-ओचालाई हेरिएको छ । उनी सन् २०१४ मा सैनिक ‘कू’मार्फत् जननिर्वाचित प्रधानमन्त्री यिङलक शिनावत्रालाई अपदस्थ गरी थाइल्याण्डको प्रधानमन्त्री बनेका थिए ।

Advertisment