भारत भ्रमणपछि साउदी युवराज चीनमा

साउदी अरबका युवराज मोहम्मद बिन सलमान भारतको दुई दिने औपचारिक भ्रमणपछि बिहीबार चीन पुगेका छन् ।

चीनको दुई दिने भ्रमणमा रहेका युवराज सलमानले चिनियाँ राष्ट्रपति सि जिनफिङसँग भेटवार्ता गर्ने छन् । भेटमा ऊर्जा, भू-उपग्रह र राष्ट्रपति सिको महत्वाकांक्षी ‘बेल्ट एण्ड रोड’ बजार पूर्वाधार अभियानसम्बद्ध क्षेत्रीय आर्थिक सहयोगका बारेमा छलफल एवम् महत्वपूर्ण सम्झौता हुने जनाइएको छ ।

चीन साउदी अरेबियाको सबैभन्दा ठूलो व्यापार साझेदार हो । गत वर्ष यी दुई मुलुकबीच ६३.३ बिलियन अमेरिकी डलर बराबरको व्यापार भएको थियो । यी दुई देशबीच सन् २०१७ मा साउदी अरबका राजा सलमानको बेइजिङको राजकीय भ्रमणको क्रममा ऊर्जा र प्रविधिसम्बन्धी ६५ बिलियन डलरको द्विपक्षीय सम्झौता भएको थियो ।

चीनको यो भ्रमणबाट युवराज सलमानले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउनुका साथै चीनलाई आफ्नो बलियो विकल्पको रूपमा पश्चिमा देशहरूका सामु प्रस्तुत गर्न चाहन्छन् । चीन भ्रमणपछि उनले दक्षिण कोरियाको पनि भ्रमण गर्ने जनाइएको छ ।

विभिन्न एसियाली मुलुकहरूको भ्रमणको क्रममा रहेका युवराज सलमानले यस क्षेत्रका नेतृत्वहरूसँगको सम्बन्धलाई बलियो बनाई पत्रकार जमाल खशोग्गीको हत्यापश्चात् धमिलिएको आफ्नो छविलाई उकास्दै साउदीको भावी राजाको रूपमा समर्थन चाहन्छन् ।

युवराज सलमान पाकिस्तान र भारतको औपचारिक भ्रमण सम्पन्न गरी चीन पुगेका हुन् ।

Advertisment