प्योङयाङमा अमेरिकी कुटनीतिक कार्यालय खोल्न उत्तर काेरिया सहमत

उत्तर कोरियाका नेता किम जोङ उन प्योङयाङमा अमेरिकी स्थायी कुटनीतिक नियोग खोल्न सहमत भएका छन् । नेता किमले अमेरिकाले प्योङयाङमा सम्पर्क कार्यालय खोले आफूले त्यसलाई स्वागत गर्ने बताउनुभयो ।
कोरियाली युद्धका कारण एकअर्काका विरोधी देखिएका उत्तर कोरिया र अमेरिकाबीच रहेको विगतको तिक्ततापूर्ण कुटनीतिक सम्बन्धलाई सामान्यीकरण गर्न कोरियाली नेताको यो प्रारम्भिक कदम हो ।
हनोई सम्मेलनको दोस्रो दिन जारी वार्ताकै क्रममा नेता किमले पत्रकारहरुसँग कुरा गर्दै यो कदम निकै स्वागतयोग्य रहेको बताएका छन् ।
उत्तर कोरियाली नेताको प्रस्तावप्रति राष्ट्रपति ट्रम्पले भन्नुभयो, किमले अगाडि सारेको यो प्रस्ताव निकै महत्वपूर्ण कुरा हो । आठ महिनापछि भएको राष्ट्रपति ट्रम्प र नेता किमबीचको दोस्रो शिखर बैठक भियतनामको हनोईमा जारी छ । विशेषज्ञहरुले यस पटकको वार्तामा उत्तर कोरियाको आणविक निःशस्त्रीकरणका विषयमा ठोस सहमति हुने अपेक्षा गरेका छन् ।
हनोईमा औपचारिक वार्ताका क्रममा राष्ट्रपति ट्रम्पले आफू अहिल्यै कुनै सम्झौतामा पुग्न हतार नगर्ने स्पष्ट गर्नुभयो । उहाँले उत्तर कोरियाले क्षेप्यास्त्र र आणविक परीक्षणलाई निरन्तरता दिँदासम्म आफूलाई कुनै सम्झौता गर्न हतार नरहेको बताउनुभयो ।

Advertisment