कर्मचारी समायोजनको प्रक्रियाले छिट्टै पूर्णता पाउँछ : मन्त्री लालबाबु पण्डित

 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले संघीय निजामती ऐनको विरोध नगर्न चेतावनी दिनु भएको छ ।

संघीय निजामती ऐनको विरोध गर्दै सरकारी चिकित्सकहरुले नै अस्पतालको सेवा बहिष्कार गरिरहेका बेला मन्त्री पण्डितले त्यसो नगर्न सचेत गराउनु भएको हो । उहाँले काठमाडौंमा आयोजित एक कार्यक्रममा संघीय संसदमा सर्वसम्मतिले पारित गरिएको ऐनलाई विरोध गर्न कसैले पनि नमिल्ने बताउनु भयो । आफूले अध्यादेशमार्फत् सो ऐन निर्माणको काम अघि नबढाएको भए अहिले पनि मुलुकमा कर्मचारी समायोजन प्रक्रिया यथास्थितिमै रहिरहेको हुने दाबी गर्नुभयो । हालसम्म ४८ हजार कर्मचारीलाई तीन वटै तहमा समायोजन गरिएको उल्लेख गर्दै मन्त्री पण्डितले अव कर्मचारी समायोजनको कामलाई छिट्टै पूर्णता दिने बताउनु भयो ।

मन्त्री पण्डितले सरकारले प्रदेश र स्थानीय सरकारलाई कमजोर बनाउन नचाहेको पनि स्पष्ट पार्नु भयो । उहाँले पहिले स्थानीय तहको निर्वाचन भएकाले त्यसका लागि आवश्यक जनशक्ति लगायतको व्यवस्थापन गर्न ढिलाई हुन गएको पनि बताउनु भयो ।

Advertisment