इथियोपिया विमान दुर्घटना, एक नेपालीसहित १५७ जनाको मृत्यु

इथियोपिया । आइतबार इथियोपियाको राजधानी अदिस अबाबाबाट केन्याको लागि उडेको विमान दुर्घटना भएको छ । दुर्घटनामा एक नेपाली, आठ चालक दलका सदस्यसहित ३० राष्ट्रभन्दा बढी मुलुकका १५७ जनाको मृत्यु भएको छ ।

विमानमा यात्रारत ३२ जना केन्याली, १८ जना क्यानडाली, नौ जना इथियोपियाली नागरिकको मृत्यु भएको इथियोपियाली अधिकारीले बताएका छन् । त्यस्तै विमानमा सवारमध्ये चीन, इटाली र संयुक्त राज्य अमेरिकाका आठ–आठ जना रहेका छन् । यसैगरी बेलायत र फ्रान्सका सात–सात जना रहेका छन् । यस्तै इजिप्टका छ, नेदरल्याण्डका पाँच तथा भारत र स्लोभाकियाका चार–चार जना विमानमा रहेको कम्पनीले जनाएको छ । विमान दुर्घटनामा परी अष्ट्रिया, रसिया र स्वीडेनका तीन–तीन जना, इजरायल, मोरोक्को पोल्याण्ड र स्पेनका दुई–दुई जना रहेका छन् भने बेल्जियम, जिबोटी, इन्डोनेशिया, आएरल्याण्ड, मोजाम्बिक, नेपाल, नाइजेरिया, नर्वे, रूवाण्डा, साउदी अरब, स्लोभानिया, सोमालिया, सुडान, टोगो, युगाण्डा र यमनका एक–एक जनाको मृत्यु भएको छ ।

इथियोपियाली विमान कम्पनीको बोइङ ७३७–८०० म्याक्स अदिस अबाबा बोल इन्टरनेशनल एअरपोर्टबाट उडेको छ मिनेटपछि नै विमानको टावरसँग सम्पर्क विच्छेद भएको विमान कम्पनीले एक विज्ञप्तिमार्फत जनाएको छ। विमान इथियोपियाको राजधानी अदिस अबाबाबाट ४५ किलोमिटर दक्षिणपूर्वमा अवस्थित बोसोफ्टु शहर नजिकै दुर्घटनाग्रस्त भएको बताइएको छ ।

Advertisment