चालकले प्रयास गर्दा पनि विमान नियन्त्रणमा लिन सकेनन्: प्रतिवेदन

गत महिना इथियोपियामा दुर्घटित विमानका चालकदलले विमान कम्पनी बोइङले दिएको सबै प्रकृयागत निर्देशनहरूको पालना गर्दा गर्दै पनि विमानलाई नियन्त्रणमा लिन असमर्थ भएको प्रतिवेदनले जनाएको छ ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा गएको मार्च १० तारिखमा विमानमा रहेका सबै १ सय ५७ जनाको मृत्यु हुनेगरी भएको इथियोपियन एअरलाइन्सको सो विमान दुर्घटनाबारे प्रारम्भिक अनुसन्धानको नतिजा सार्वजनिक गर्दै इथियोपियन यातायात मन्त्री डाग्माविट मोगेसले सो कुरा बताएकी हुन् ।

विमान उत्पादक कम्पनीले दिएको सबै निर्देशनहरू बारम्बार पालना गर्दा पनि विमान नियन्त्रणमा नआएको उक्त विमानको रेकर्डरमा रेकर्ड भएको तथ्यांकले पुष्टि गरेको उनको भनाइ थियो । विमानको फ्लाइट कन्ट्रोल सिस्टम सुधार गर्न निर्माता कम्पनीलाई प्रतिवेदनले सुझाव दिएको पनि मन्त्री मोगेसले बताइन् ।

चालकदलको अथक प्रयासको बाबजूद पनि उक्त बोइङ सेभेन-थ्री-सेभेन म्याक्स-एट विमानको अघिल्लो भाग जमिनतिर घोप्टिएर खसेको थियो । त्यसको पाँच महिनाअघि सोही मोडेलको विमान इण्डोनेसियामा दुर्घटनाग्रस्त भएको थियो जसमा १ सय ८९ जनाको मृत्यु भएको थियो ।

Advertisment