केन्द्रीय सरकारले कागजमा मात्र अधिकार हस्तान्तरण गर्दा काम गर्न सकिएन : मुख्यमन्त्री

चन्द्रागिरि नगरपालिकाको प्राथमिक अस्पताल उद्घाटन

काठमाडौं । प्रदेश तीनका मुख्यमन्त्री डोरमणि पौडेलले केन्द्रीय सरकारले प्रदेश सरकारलाई कागजमा मात्र अधिकार हस्तान्तरण गरेकोले आफुले काम गर्न नसकेको बताउनु भएको छ ।

काठमाडौं चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ मा १५ शैयाको प्राथमिक अस्पताल उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले विकासका कुरा धेरै गरेपनि चित्लाङ हेटौंडा जोड्ने गणेशमान राजमार्ग अहिलेसम्म बन्न नसक्नु दुर्भाग्य भएको उल्लेख गर्नुभयो । सरकारले समृद्ध नेपाल खुशी नेपालीको नारा लगाई रहँदा लाइफलाइनको रुपमा रहेको यो बाटोमा सरकारको ध्यान नपुग्नु दुःखको कुरा रहेको बताउनु भयो । ‘काठमाडौंबाट हेटौंडा पुग्न अहिले २२५ किलोमिटरको दुरी पार गर्नुपर्ने हुन्छ, यो बाटो बनेमा ५० किलो मिटरमै हेटौंडा पुग्न सकिने उहाँ बताउनु हुन्छ । यो राजमार्ग संचालनमा ल्याउन सके देशको अर्थतन्त्रसहित व्यवसाय र रोजगारीको सिर्जना गर्न सकिने उहाँको दाबी छ ।

कार्यक्रममा उहाँले लिच्छवीकाल, मल्लकाल र राणा शासनमा बनेको संरचना बाहेक सात सालपछि कुनै पनि सरकारले काम गर्न नसकेको हुँदा अहिलेको सरकार काम गर्नकै लागि बनेको बताउँदै जे बोल्छ त्यही गर्छ, गर्न नसक्ने काम बोल्दैन भन्दै जनताले अनुभूतिको महसुस गर्ने खालको काम गर्ने बताउनु भयो । परिणाम विनाको कामको अर्थ नहुने बताउँदै प्रदेश सरकारले अब गणेशमान राजमार्ग, चित्लाङ हेटौंडा सुरुङमार्ग र थानकोट पार्कको स्तरोन्नतिलाई पहिलो प्राथमिकता दिई नमूनाको केन्द्रविन्दु बनाउन लागि पर्ने उल्लेख गर्नुभयो । प्रत्येक स्थानीय तहमा उद्योग ग्राम बनाउने सोचमा सरकार रहेको बताउँदै नगरपालिकाको सानातिना योजना प्रदेशमा नल्याउन स्थानीय सरकारलाई आग्रह समेत गर्नुभयो ।

मुख्यमन्त्री पौडेलले स्थानीय तहका जनप्रतिनिधिलाई इतिहास रच्ने खालको काम गर्न आग्रह गर्नुभयो । सबै स्थानीय तहमा नगरसभा सम्पन्न भइसकेकोले छरुवा योजना नल्याइ उत्पादन, रोजगार र अर्थतन्त्रलाई जोड्ने खालको बजेट बनाउन निर्देशन दिनुभयो । उहाँले सम्बोधनको क्रममा चन्द्रागिरि नगरपालिको प्राथमिक अस्पताललाई चाहिने आवश्यक सामग्री र सेवा सुविधा प्रदेश सरकारले उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

Advertisment