झन्झटिलो प्रक्रियाले औषधि तथा स्वास्थ्यका उपकरण खरिदमा समस्या

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले झन्झटिलो खरिद प्रक्रियाका कारण औषधि तथा स्वास्थ्यका उपकरण खरिद प्रक्रियामा समस्या परेको बताउनुभएको छ ।

प्रतिनिधिसभा, शिक्षा र स्वास्थ्य समितिको बैठकमा मन्त्री यादवले औषधि संवेदनशील क्षेत्र भएकाले यसलाई बोलपत्र प्रक्रियाभन्दा अन्य प्रक्रियाले खरिद गर्नुपर्ने व्यवस्था मिलाउन आवश्यक रहेको उल्लेख गर्नुभयो । औषधि र उपकरण कम दरभाउको बोलपत्रबाट खरिद गर्ने परम्पराले जनताले गुणस्तरीय स्वास्थ्य सेवा पाउनबाट बञ्चितसमेत हुन पुगेको र खरिद गरिएका औषधिका पनि तीन महिनामा समयावधि सकिने धारणा राख्नुभयो । संविधान कार्यान्वयन गर्न बनेका प्रजनन स्वास्थ्य तथा जनस्वास्थ्य ऐनको प्रभावकारी कार्यान्वयन गर्न नियमावली आउन लागेको उहाँले जानकारी दिँदै कर्मचारी समायोजन प्रक्रियाले स्वास्थ्य क्षेत्रमा असर परेको बताउनुभयो ।

समितिको बैठकमा समितिका सभापति जयपुरी घर्तीलाई स्वास्थ्य तथा जनसंख्या उपसमितिका संयोजक खगराज अधिकारीले प्रतिवेदन हस्तान्तरण गर्नुभएको थियो ।

Advertisment