सञ्चार र मानव अधिकारको क्षेत्रमा सरकारले हस्तक्षेपकारी भूमिका खेल्यो : महत

धनकुटा । नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री रामशरण महतले सरकारले सञ्चार र मानव अधिकारको क्षेत्रमा हस्तक्षेपकारी भूमिका खेलेको आरोप लगाउनुभएको छ ।

प्रेस युनियन धनकुटाले धनकुटामा आयोजना गरेको कार्यक्रममा महतले सरकारले अघि सारेको आमसञ्चार विधेयक समग्र सञ्चार क्षेत्रमाथिको आक्रमण भएको टिप्पणी गर्नुभयो । मन्त्रिपरिषद्बाट पारित भएर संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयक समग्र सञ्चार क्षेत्रकोविरुद्ध रहेकोले संसदबाट पास गर्न नहुने महतको धारणा थियो ।

यस्तै, सरकारले मानवअधिकारको क्षेत्रमा समेत गलत कार्य गरेको उहाँले बताउनुभयो । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रचारमुखी मात्र रहेको भन्दै सस्तो लोकप्रियतामा सिमित यस्ता कार्यक्रमले दीर्घकालिन उपलब्धी नहुने बताउनुभयो । महतले वर्तमान सरकार राष्ट्रियताको सवालमा सबल रहेको भन्दै त्यसको फाइदा चीनसँगको व्यापार र सम्झौताप्रति सकारात्मक रहेको उल्लेख गर्नुभयो ।

Advertisment