जेठ ३ गते एकताको सबै काम टुंगिने : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको सबै काम टुंगिन अब केही दिनमात्र बाँकी रहको बताउनुभएको छ ।

युवा संघ नेपालको २९औँ स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले जेठ ३ गते पार्टी एकताको सबै काम टुंगिएको घोषणा हुन सक्ने बताउनुभयो । यसअघि नेकपाले जिल्ला अध्यक्ष र सचिवहरुको घोषणा गरेको छ । अब पोलिटब्यूरो, केन्द्रीय सदस्यहरुको कार्यविभाजन, जनवर्गीय संगठनको एकताको टुंगो लगाउन बाँकी छ । सकभर तीन गते एकता हुने नभए ३ वा ४ मा पनि हुन सक्ने उहाँको भनाई छ । प्रधानमन्त्री स्वदेश फर्किए लगतै छलफल गरेर जनसंगठनको मात्रै भएपनि ३ गते एकता टुंग्याउने उल्लेख गर्नुभयो । प्रचण्डले यसअघि आफ्नै नेताहरुले एकता प्रकृया, सरकारका कामकारवाही र कम्युनिष्ट नेताहरुको आचरणबारे उठाइएका प्रश्नहरुप्रति सहमत रहेको बताउनुभयो । पार्टी एकता नेतृत्वको ठोस पहलकै कारण सम्भव भएको भन्दै नेतृत्वले हिम्मत नगरेको भए अहिले कम्युनिष्ट नेतृत्वको सरकार नबन्ने तर्क गर्नुभयो । प्रचण्डले तथाकथित राजनीतिका नाममा दम्भ गर्ने धार रहेको भन्ने भन्दै दक्षिणपन्थी जडता र बामपन्थी जडताले कम्युनिष्ट आन्दोलनलाई धराशायी बनाउने गरेकाले यी दुबै प्रवृति घातक हुने जिकिर गर्नुभयो ।

कार्यक्रममा रक्षामन्त्री तथा पार्टीकै सचिवालय सदस्य ईश्वर पोखरेलले नेतृत्वको कार्यशैलीप्रति कडा आलोचना गर्नुभएको थियो । विश्वमा भएका घटना नेपालमा पनि दोहोरिन सक्ने भन्दै पोखरेलले विचारको स्पष्टतालाई नेतृत्वले विशेष महत्व दिनुपर्नेमा जोड दिनुभयो । विचारमा स्पष्ट हुन नसके सिंगो पार्टी नै अलमलमा पर्ने र अन्ततः कम्युनिस्ट पार्टीले नै दुर्गती भोग्नुपर्ने भन्दै उहाँले त्यसतर्फ सधै चनाखो रहन आग्रह गर्नुभयो ।

त्यस्तै नेकपाका महासचिव बिष्णु पौडेलले जेठ ३ गते पार्टी एकीकरण टुंगिएको घोषणा हुने बताउनुभयो । एकताका धेरै महत्वपूर्ण काम सकिएपनि केही बाँकी छन् भनेर गुनासो आइरहेको र अब केही दिनभित्र गुनासो पनि हट्ने बताउनु भयो ।

Advertisment