प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको एक साताको औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्कनुभएको छ ।

समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुकको निमन्त्रणामा बैशाख २६ देखि ३० गतेसम्म भियतनाम र त्यसपछि कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा कम्बोडिया भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फर्कनुभएको हो । प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, नेकपा संसदीय दलका उपनेता सुुवास नेम्बाङ र उच्चपदस्थ कर्मचारीले स्वागत गर्नुभएको थियो । सो अवसरमा नेपाली सेनाको एक टुकडीले प्रधानमन्त्री ओलीलाई सलामी अर्पण गरेको थियो ।

प्रधानमन्त्री ओलीले बिमानस्थलमा पत्रकार सम्मेलन गर्दै आफ्नो भ्रमण सफल भएको बताउनुभयो । त्यस्तै प्रधानमन्त्री ओलीले सदनमा आफुले बोलेको कुरा सदनबाट नहटाइएको दाबी गर्नुभयो । उहाँले आफुले कुनै असंसदीय शव्द नबोलेको भन्दै रेकर्डबाट फाल्ने कुनै कुरा नभएको तर्क गर्नुभयो ।

प्रधानमन्त्री ओलीसहित परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायतका प्रतिनिधिमण्डलको टोली पनि स्वदेश फर्किएको छ ।

Advertisment