‘प्रेस स्वतन्त्रता विरोधी कुनै पनि विद्येयक राष्ट्रियसभाबाट पारित हुन्न’

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता दिनानाथ शर्माले संविधानविपरित प्रेस स्वतन्त्रता विरोधी कुनै पनि विद्येयक राष्ट्रियसभाबाट पारित नहुने बताउनुभएको छ ।

काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उहाँले उक्त विद्येयक राष्ट्रिय सभामा नआएको समेत बताउनुभयो । संविधानको मूल्य र मान्यताअनुसार नै विद्येयक आउनुपर्ने भन्दै उहाँले संविधानले नै पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभुति गरेको जिकिर गर्नुभयो । उहाँले शिक्षा क्षेत्रमा ठूलो विकृति, अराजकता र भद्रगोलको अवस्था रहेकोले यसलाई सुधार गर्नु आजको आवश्यकत्ता रहेको बताउनुभयो ।

कार्यक्रममा कांग्रेस नेता एवम् पूर्वमन्त्री अर्जुननरसिंह केसीले मिडिया काउन्सिलसम्बन्धी विद्येयकलगायतका अन्य अप्रजातान्त्रिक विद्येयक फिर्ता नलिए त्यसकाविरुद्धमा सडक र सदन दुबैबाट संघर्ष गर्ने चेतावनी दिनुभयो । उहाँले सुरक्षा परिषदसम्बन्धीको विद्येयकको पनि आफूहरुले विरोध गरेको बताउनुभयो ।

नवगठित समाजवादी पार्टी, नेपालका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले आफ्नो पार्टी संविधानले प्रत्याभुति गरेझैं पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको स्पष्ट पार्नुभयो । श्रेष्ठले आफ्नो पार्टीले प्रेस स्वतन्त्रता कुण्ठित गर्ने कुराको विरोध गर्ने बताउनुभयो । उहाँले जनताभन्दा माथि बस्ने कम्युनिष्ट हुनै नसक्नेपनि टिप्पणी गर्नुभयो । सरकारको नीति तथा कार्यक्रम सम्बोधन गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले मेरो सरकार भनेकोमा आक्रोश पोख्दै उहाँले राष्ट्रपति भण्डारीलाई सामन्ती युगको महारानीजस्तो भएको संज्ञा दिनुभयो ।

Advertisment