सरकारले लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रताको मर्मविपरित विधेयक ल्यायो : वैद्य

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले सरकारले ल्याएको मिडिया काउन्सिल बिधेयकप्रति विरोध गर्नुभएको छ ।

काठमाडौंमा पाँच वटा पत्रकार संस्थाको संयुक्त पत्रकार संघर्ष समितिले गरेको कार्यक्रममा उहाँले सरकारले लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रताको मर्मविपरित विधेयक ल्याएको बताउनुभयो । उहाँले मिडिया काउन्सिल विधेयकमा यो विषय प्रेस स्वतन्त्रताको कुरा मात्रै नभएर नागरिक अधिकार र अभिब्यक्ति स्वतन्त्रताको पनि विषय भएको बताउनुभयो । वैद्यले सरकारले यसलाई तुरुन्त फिर्ता लिनुपर्ने धारणा राख्नुभयो । वैद्यले जनताका हक अधिकार संसदबाट पुरा हुँदैन भन्ने आफ्नो पार्टीको आस्था रहेको बताउँदै संविधानसभाबाट संविधान बनाउने क्रममा ठूला भनिएका नेता बाहेक अन्य सभासदहरुको कुनै भूमिका नरहेको उल्लेख गर्नुभयो ।

त्यस्तै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाली प्रेसले २०४६ सालको आन्दोलन तथा २०६२/०६४ सालको आन्दोलनमा पनि महत्वपूर्ण सहयोग गरेको बताउँदै सरकारले ल्याएको विधेयक लोकतन्त्र विरोधी रहेको बताउनुभयो ।

Advertisment