टोखा नगरपालिकाका वडैपिच्छे सय व्यक्तिको पिसिआर परिक्षण गरिने

काठमाडौँ, १० भदौ । कोरोना संक्रमण उपत्यकामा बढ्दै गएपछि काठमाण्डौंको टोखा नगरपालिकाले प्रत्येक वडाका १०० व्यक्तिको पिसीआर परीक्षण गर्ने भएको छ । नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले बढी भीडभाड हुने खाद्यान्न, तरकारी, फलफूल, दुग्धजन्य पसल, माछामासु, फोहोरमैला सङ्कलनमा सङ्लग्न व्यक्ति र कोभिड–१९ को लक्षण देखिएका व्यक्तिको पिसिआर परिक्षण गर्न लागेको जानकारी दिनुभयो ।

टोखाले पिसिआर परिक्षणका लागि प्रत्येक वडामा विवरण सङ्कलन गर्न आग्रह समेत गरेको छ । टोखा नगरपालिकाभित्र ११ वडा रहेका छन् । टोखाले हालसम्म एक हजार ४४७ जनाको पिसिआर परिक्षण गरिसकेको छ । जसमध्ये १२० जनाको रिपोर्ट पोजेटिभ देखिएको छ । रिपोर्ट पोजेटिभ देखिएकामध्ये ५० जना निको भएर घर फर्किसकेका छन् । यस्तै, दुई जना सम्पर्कविहिन छन् भने दुईजनाको मृत्यु भइसकेको र बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रवक्ता बस्यालले बताउनुभयो ।

यहि भदौ ७ गते ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल अगाडि ८३ जनाको गरेको पिसिआर परिक्षणमा ५५ जनाको नेगेटिभ, नौजनाको पोजेटिभ रिपोर्ट आएको थियो । उक्त रिपोर्टसँगै सङ्क्रमितको संख्या १२० पुगेको हो ।
उपत्यका नगरपालिका फोरमको सोमबार बसेको बैठकले उपत्यकाभित्रका स्थानीय तहमा कन्ट्याक ट्रेसिङ र पिसिआर परिक्षणलाई तीव्रता दिने निर्णय गरेअनुसार टोखामा पनि पिसिआर परिक्षणलाई तीव्रता दिन लागिएको नगरप्रमुख प्रकाश अधिकारीले जानकारी दिनुभयो । काठमाडौँ उपत्यकाभित्र १८ स्थानीय तह रहेका छन् ।

Advertisment