आत्मबलले जितिन्छ कोरोना

विश्वलाई नै आतंकीत बनाउँदै डडेलो झैं फैलिएको कोरोना जति सचेत हुँदा पनि मलाई पनि २४ दिन अघि संक्रमण भएरै छाड्यो । मुटुको समस्या भएका, अपरेसन गरेकाहरुलाई कोरोनाले अरु सामान्यलाई भन्दा दुःख दिन्छ भन्ने समाचार सुन्दै र पढ्दै आएको थिएँ । त्यसैले पनि म कोरोना लाग्नै नदिन सचेत थिएँ ।

मुटुको भल्भले काम नगरकोले मेराे २४ वर्ष अघि नै भल्भ फेरिएको थियो । डा भगवान कोइराला मेरोलागि भगवान बनेर सफल अप्रेसन गर्नु भएको थियो । कोरोना संक्रमण भएपछि उहाँलाई फोन गरेँ । उहाँले तिमी उच्च मनोवल भएको मान्छे सजिलै कोरोनालाई जित्छौ ढुक्क होउ भन्नु भएपछि थप उर्जा मिलेको थियो ।

मुटुको अप्रसेन गरेको भए पनि म कहिल्यै पनि नेगेटिभ सोच्दिनं थिएँ । सँधै पोजेटिभ सोच्थें । यही आत्मबलले नै मलाई सगरमाथा आधार शिविर सम्म पुर्यायो । २०६६ साल जेठ १५ गते सगरमाथा म्याराथनमा सहभागी भएँ । अन्नपूर्ण म्याराथनमा भाग लिएँ । ५ हजार ६ सय १६ मिटर उचाईको थोरङला पास धेरै पटक पास गरें । विश्वकै अग्लो ठाउँमा रहेको तिलिचो ताल तिन पटक पुगें । अन्नपूर्ण बेसक्याम्पमा पटक पटक पुगेँ उच्च हिमाली क्षेत्रका मेरो यात्रा आत्मबलले नै पुर्याएको हो ।

यसैले पनि कोरोना संक्रमण भएको पहिलो खबर पाउँदा केही डर लागे पनि जित्छु भन्ने मेरो आत्मबल बलियो भएर आएको थियो । मैले कति मुटुको अप्रेसन गरेका, मुटुको समस्या भएका युवाहरु जिवननै अब सकिएजस्तो गरि पीर मानेको देखेको छु । सुनेको छु । समस्या पीर मानेर जितिदैन । खानपानमा के खान हुने के नहुने हेक्का राखेर अनुशासित बन्नु पर्छ । डाक्टरले दिएको औषधी नियमित रुपमा सेवन गर्नु पर्छ । बस् त्यति भएपछि मलाई यो रोग लागेको छ भनेर चिन्ता मान्नु नै पर्दैन । पक्का जितिन्छ सबै खाले शरिरमा आक्रमण गर्ने भाइरस र रोगहरु ।

कोरोना संक्रमण पुष्टि भएको आज २५ औं दिनमा मैले कोरोना जिति सकेको छु । तपाईहरु पनि उच्च मनोबल बनाउनोस् । खानपानमा ध्यान दिनोस् । तातो सुप, बेसारपानी, प्रोटीनयुक्त खाना, फलफुल खानोस् । फ्रिजमा राखेको चिसो केही पनि सेवन नगर्नोस् । रक्सी, चुरोट त छुँदै नछुनोस् । बस यति गरेपछि तपाईले पनि मैले जस्तै सजिलै कोरोनालाई परास्त गर्नु हुन्छ ।

कोरोना जिति सके पनि मेरो मनमा रहेको कुरा जति सचेत हुँदा हुँदै पनि कोरोना कसरी शरिरमा प्रवेश गर्छ होला । मैले अझै बुझ्न सकीरहेको छैन । म घर बाहिर निस्कदा अनिवार्य रुपमा मास्क,सेनिटाईजर र पन्जाको प्रयोग गर्थें । साथीभाईहरुसंग सामाजिक भौतिकदुरी गरि बस्थें । औपचारिक कार्यक्रममा जान्थिनं । तै पनि कतिपय जिम्मेवारी कामका कारणले जानै पर्ने सामान्य क्रियाकलापमा सहभागी हुन जाँदा मेरो शरीरमा पनि कुन बेला कोरोना भाईरसले डेरा जमाई सकेको रहेछ थाहा नै भएन । सामान्य शरीर दुख्न, ढाड दुख्ने,छाती दुख्ने जस्ता लक्षणहरु देखा परेको थियो । त्यसपछि पत्रकार भाइ अमृत सुवेदीको फेसबुक स्टाटससंग मेरो पनि केहि लक्षणहरु मेल खान पुग्यो । उनलाई कोरोना संक्रमण भएको जानकारी फेसबुक स्टाटसबाट त्यसै दिन थाहा भएको थियो ।

अनि मैले पनि स्वाब दिने निर्णयमा पुगें । पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठलाई फोन गरेर सबै कुरा भनें र दोश्रो दिन स्वाब दिने कुरा भयो । असोज २१ गते बुधवार स्वाब दिए र रिजल्टको पर्खाईमा कुरि बसें । अन्तत शुक्रवार २३ गते बेलुका फोन आयो रिपोर्ट पोजिटिभ, अब बल्ल तनाव हुन थाल्यो । तनावको कारण त्यही २४ बर्ष अगाडि गरेको मेरो ओपन हार्ट सर्जरी थियो । मुटु रोग विशेषज्ञ डा.भगवान कोईरालाले उच्च मनोबल बनाउन थप उर्जा दिनु भएको थियो । त्यतिनै बेला मीन गुरुङ दाइको फोन आयो र मलाई औषधीहरु खानु पर्ने बताउनुभयो र डां बुद्धीबहादुर थापालाई कल गर्ने सुझाव दिनुभयो । डा को सुझावमा औषधी खान शुरु गरें ।

कोरोना संक्रमण हुनु भनेको ठुलै अपराध गरे जस्तो व्यवहार समाजमा संक्रमितले भोगी रहेकाछन् । यसो गर्नु भनेको झन्रो कोरोना संक्रमण फैलन थप मलजल गर्ने व्यवहार हो । त्यसैले कोरोना संक्रमितलाई हेला , लान्छना होइन उर्जा दिउँ । कोरोना संक्रमित खुल्दा अरुलाई संक्रमण हुने क्रम रोकीन्छ । त्यसैले मैले कोरोना संक्रमण पुष्टि भएकै दिन सार्वजनिक गरें। मेरो सम्पर्कमा रहनु भएका साथी, भाइ, इष्टमित्रलाई सचेत हुन सजिलो भयो ।

सबैजनाको सल्लाह सुझावले घरमा नै आईसोलेसन बसेको थिएं । यसरी आईसोलेसनमा बस्दाका दिनहरु तनाव र रमाइलोको मिश्रण रहयो । यसरी दश दिन काटियो र फेरि स्वाब दिने निर्णय गरें । कारण मलाई कुनै पनि लक्षणहरु थिएन । तर रिजल्ट फेरि पोजिटिभ आयो । कार्तिकको ५ गते वडा कार्यलय वडा नं १२ बाट फोन आयो र स्वाब दिनको लागि मालेपाटन जानु पर्ने भयो र गएर दिए र फेरि रिपोर्टको पर्खाईमा दिनहरु काट्न थाले । अब त रिपोर्ट नेगेटिभ आउँछ भन्ने विश्वास थियो । विश्वास अनुसार नै २५ औं दिन जानकारी आयो, रिपोर्ट नेगेटिभ छ ।

मैले २५ औं दिनमा कोरोना जित्न सफल भएँ । कार्तिकको ५ गते दिएको स्वाबको रिपोर्ट बल्ल १४ गते शुक्रवार नतिजा नेगेटिभ आयो । यो दश दिन सम्म पुरै तनावमा दिन रातहरु विताएँ, रोगले भन्दा पनि तनावले ज्यान लाने हो कि जस्तो लाग्ने। समयमा रिजल्ट नआउँदाको त्यो क्षण ऊफ् जिन्दगी । धेरैभन्दा धेरैले कोरोना जितिरहेका छन् भने मैले पनि कोरोनालाई जितिन्छ भन्ने पक्का आत्म बिश्वास थियो ।

मैले हार्नुपर्ने कुनै कारण थिएन । मरिन्न भन्नेमा ढुक्क थिएं । तर, पनि यो बिचमा खेपेका मानसिक तनाव, असरहरु थुप्रै छन् । सामाजिक दुरव्यबहार र अपहेलना अझै जित्नै बाँकी नै छ । बिशेष धन्यवाद यो बिचमा सहयोग, हौसला र माया गर्नुहुने थुप्रै जना हुनुहुन्छ ।

मेरा प्रिय, आत्मिय र सहृदयी असली आफन्तहरुको नाम गाढा अक्षरले हृदयमा कुँदिएका छन् । तपाईंहरुको शुभेच्छा, हौसला र प्रेमले निको हुन धेरै ऊर्जा थपियो । सबै सबैमा हार्दिक आभार र कृतज्ञ छु ।

यहाँहरुले गर्नु भएको सहयोग जिन्दगी भरी भुल्ने छैन । अब छिट्टै फोटो पत्रकारिताकै मैदानमा हाम्रो भेट हुनेछ । अब म प्लाज्मा थेरापी गर्नेछु । मेरो एबि पोजिटिभ रगत कोरोना संक्रमित अरु कसैका निम्ति काम लागोस् ।

धन्यवाद!

राम गुरुङ ( फोटो पत्रकार), पोखरा

Advertisment